अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल लक डाउन नगर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

तत्काल लक डाउन नगर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल लक डाउन नगर्न विज्ञहरुले सुझाव दिएका छन् ।
आज देउवाले नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग आयोजना गरेको छलफलमा उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । पछिल्लो समयमा तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ ।

छलफलमा नेपालमा कोरोना सङ्क्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको सङ्क्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका थिए ।

चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापीरूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै चिकित्सहरूले खोप लगाउने क्रममा देखिएको भीड कम गर्न सरकारलाई सुझाव दिएका थिए ।

छलफलमा सहभागी चिकित्सकले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

पछिल्ला केही दिनयता सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकसमेत सङ्क्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण र वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ ।

केही अस्पतालका चिकित्सक, नर्समा सङ्क्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबुत बनाउने भन्नेबारेमा चिकित्सकहरूले सुझाव दिनुभएको छलफलमा सहभागी पाटन अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा। जनक कोइरालाले जानकारी दिए ।

सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने उनीहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।

चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए ।

छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताए । आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए ।

कोरोनाविरुद्धको महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको जीवन बिमा र सुरक्षाकर्मीलाई प्रोत्साहित गरिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।