चितवन -कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।
सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० तथा सवारी नवीकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै सवारी नवीकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिनुभयो । एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नवीकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड बढेकाले एक पटकमा २५ जनाभन्दा बढी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने स्थानीय प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरेका हौँ ।” भीडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरिएको छ ।
कोभिडका कारण कार्यालय बन्द हुन नदिन भीडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उहाँले बताउनुभयो । सेवाग्राहीले कार्यालयको वेबसाइटमा गएर सजिलै अनलाइन टोकन लिन सकिने छ । वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्नेछन् ।







प्रतिक्रिया