अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछाने र चिनियाँ राजदूत झाङबीच भेटवार्ता, विपद्मा चीनको साथ रहने प्रतिबद्धता

रवि लामिछाने र चिनियाँ राजदूत झाङबीच भेटवार्ता, विपद्मा चीनको साथ रहने प्रतिबद्धता


काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच मंगलबार भेटवार्ता भएको छ।

बुढानीलकण्ठस्थित लामिछानेको निवासमा मंगलबार दिउँसो भएको भेटमा राजदूत झाङले भोटेकोसी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।

राजदूत झाङले विपद्को यस कठिन समयमा खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहने बताएका थिए। उनले नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको प्रतिबद्धता जनाएका थिए।

विपद्लगत्तै चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने राजदूत झाङले बताएका थिए।

भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताएका थिए। उनले आगामी दिनमा समेत थप सहकार्यका लागि आग्रह गरेका थिए।

लामिछानेले विपद् आउनुअघि नै जोखिमबारे जानकारी प्राप्त हुने पूर्वसूचना प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने तथा सम्बन्धित निकायबीचको समन्वय अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार भेटमा नेपाल–चीनबीच विपद् व्यवस्थापन तथा उद्धारका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।