काठमाडौं-नेकपा (एमाले)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाको प्रभावकारी अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा भदाै १६ गते मंगलबार बसेको एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठकमा पार्टीका संसदीय दलका नेतामार्फत विपद्पछिको अवस्थाबारे धारणा राख्दै विशेष संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। उनका अनुसार समितिले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी तथा सरकारलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ।
बैठकले बाढी-पहिरो तथा अन्य विपद्का घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरिएको छ। एमालेले राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आफ्ना प्रत्येक सांसदको १५ दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।
प्रमुख सचेतक महरले विपद्पछिको उद्धार कार्य अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको आरोप लगाए। समयमै उद्धार हुन नसक्दा धेरै नागरिकको ज्यान जोगाउने अवसर गुमेको उनको भनाइ छ। एउटै घरबाट २२ भन्दा बढी शव फेला पर्नु तथा कतिपय शव पाँचदेखि सात दिनपछि मात्र भेटिनुले सरकारी संयन्त्रको गम्भीर कमजोरी उजागर भएको उनले बताए।
उनले सुरुङलगायत विभिन्न स्थानमा अझै शवहरू अलपत्र रहेको तथा परिवारलाई जिम्मा नदिई सामूहिक रूपमा गाड्ने कार्य उचित नभएको धारणा व्यक्त गरे। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्ले देशका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै एमालेले सरकारलाई उद्धार, राहत र पुनर्स्थापनाका कार्य थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
साथै, भोटेकोशी विपद्को विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहलमा आयोजित सर्वदलीय बैठकप्रति समेत विभिन्न राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ। विपद्को घडीमा सरकारको नेतृत्व प्रभावकारी देखिन नसकेको आरोप लागिरहेका बेला सर्वदलीय बैठकले ठोस निष्कर्ष र कार्ययोजना दिनुपर्ने अपेक्षा व्यक्त गरिएको छ।


प्रतिक्रिया