काठमाडौं-गृहमन्त्री सुदन गुरुङले भोटेकोशी–त्रिशूली बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।
मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले टनेलभित्र गहिरो दलदल र बाहिर ठाडा ढिस्कोका कारण उद्धारमा निकै कठिनाइ भइरहेको जानकारी दिए।
उनका अनुसार टनेलको अगाडिको भागमा कच्ची माटो र दलदल भएकाले हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था छैन। हेलिकोप्टर तल झार्दा पंखा ढिस्कोमा छुने जोखिमसमेत रहेको उनले बताए।
‘बाढीले कल्पना गर्न नसकिने क्षति गरेको छ। केही पनि बाँकी राखेको छैन। क्षतिको स्तर कल्पना नै गर्न सकिँदैन, पहाड नै फोरेको छ,’ गृहमन्त्री गुरुङले भने।
गृहमन्त्री गुरुङले सुरुङभित्र ड्रोन प्रयोग गरेर अवस्थाको जानकारी लिने तथा माथिबाट समेत खनेर प्वाल बनाई उद्धार सामग्री र खाद्यान्न पठाउने सम्भावनाबारे काम भइरहेको बताए।
गृहमन्त्री गुरुङले सुरुङमा फसेकाहरू जीवितै रहेको हुनसक्ने आशा अझै कायम रहेको बताए। सुरुङभित्र पानी चुहावट हुन सक्ने भएकाले फसेकाहरूले पानी पिइरहेको हुनसक्ने उनको अनुमान छ।
‘अझै पनि आशा राखेका छौँ। जीवित भेटिने सम्भावना अझै छ। प्रार्थना गरौँ, आशा गरौँ, राम्रो हुनेछ,’ गृहमन्त्री गुरुङले भने।
उद्धारमा सुरक्षाकर्मीको संयन्त्र निरन्तर परिचालित रहेको जानकारी दिँदै गृहमन्त्री गुरुङले कठिन परिस्थितिका बाबजुद उद्धार प्रयास नरोकिने बताए।


प्रतिक्रिया