काठमाडौँ-भदौ १० गते बुधवार विनाशकारी बाढी र पहिरोका कारण रसुवा तथा आसपासका जिल्लामा हालसम्म १ हजार ५० जनाको ज्यान गएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएको हो।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र नुवाकोटमा १४२ वटा शव फेला परेका छन्। त्यसैगरी गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव भेटिएको छ।
बाढी र पहिरोमा परी हालसम्म २९२ जना घाइते भएका छन्। घाइतेमध्ये १८२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले २ हजार ९१५ र सशस्त्र प्रहरीले १ हजार १५५ जनाको स्वास्थ्य उपचार गरेका छन्।
नुवाकोटको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रबाट करिब १ हजार ५५८ र रसुवा केन्द्रबाट करिब ८६५ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। जलविद्युत आयोजनाका करिब ६३९ जना, ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै घुम्न गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन्। यसैगरी नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन र क्वारेन्टाइन कार्यालयका ३-३ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारीको अवस्था अज्ञात छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ। खोजी र उद्धारमा कुल २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १ सय ९९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना खटिएका छन्।
नेपाली सेनाले मात्र ६१० पटक हवाई उडान भरेर २७३ विदेशी र ४ हजार ९१ नेपालीको उद्धार गरेको छ। भदौ १६ गते मात्र सेनाले ८४ उडान गरेको छ भने निजी क्षेत्रबाट काठमाडौंबाट २९ उडान भएका छन्। उद्धार गरिएका ३ हजार ४५३ जनालाई नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
प्रभावित क्षेत्रमा खाद्यान्न, राहत र इन्धन आपूर्तिलाई प्राथमिकतामा राखिएको छ। हालसम्म ३७ वटा ट्रक, ३७ वटा बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत राहत सामग्री पठाइएको छ भने भदौ १६ गते थप १४ वटा गाडी परिचालन गरिएको छ। सशस्त्र प्रहरीले ७७ उडानमार्फत राहत ढुवानी गरेको छ।
नेपाल सरकारले रसुवा र नुवाकोटलाई १-१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ वटा पालिकालाई ६ करोड ७५ लाख निकासा गरिएकोमा भदौ १६ गते थप ६ करोड ७५ लाख रुपैयाँ निकासा भएको छ। प्रभावित क्षेत्रमा ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका क्षति पुगेका १ सय १० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावर मर्मत गरी सेवा सुचारु गरिएको छ। बेपत्ता नागरिकको जानकारी दिने सन्दर्भमा प्राधिकरणले भनेको छ ‘सम्पर्कविहीन विदेशी नागरिक तथा विदेश बस्ने नेपालीहरू, उपचाररत व्यक्तिहरू र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा हेर्न सकिन्छ।’



प्रतिक्रिया