अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको चुनावप्रति गठबन्धन सरकार किन त्रसित ? : आनन्द पोखरेल

स्थानीय तहको चुनावप्रति गठबन्धन सरकार किन त्रसित ? : आनन्द पोखरेल

स्थानीय निर्वाचनको मिति नतोके सडक आन्दोलन गर्छौं


काठमाडौं  – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री आनन्द पोख्रेलले गठबन्धन सरकारलाई चाँडो भन्दा चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गर्न आग्रह गर्नुभएको छ । नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन नगराए आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधानले निर्दिष्ट गरे बमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखको कुरा भएको पोख्रेलले बताउनुभयो । उहाँले संविधान र कानूनप्रति नै आशङ्का जन्माउने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गर्नुभयो ।  नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाउनुभयो ।

निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिनुभयो ।

नेता पोख्रेलले भन्नुहुन्छ, ‘नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो। नेकपा एमाले चुनावको पक्षमा छ । सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको समय वैशाख १४ र २२/२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । एमाले अहिले पनि जनताको लोकप्रिय पार्टी हो। हामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्नेछौँ । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ ।’

नेता पोख्रेलले भन्नुभयो, ‘ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नुपर्छ। तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शङ्का तथा उपशङ्का अनि आशङ्का जन्मिएको छ, यो आशङ्का हुने गरी पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । अझ भन्ने हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । प्रधानमन्त्री देउवालाई प्रश्न गर्न चाहन्छु- किन निर्वाचनको लागि ढिलासुस्ती र आनाकानी गर्दै हुनुहुन्छ ?’

नेता पोख्रेलले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरूको वैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।’

नेपाली काँग्रेसहितको पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेताहरूले अझै पनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गर्नुभयो । उहाँले एमाले राष्ट्रियता र संविधान कार्यान्वयनको लागि लडेको पार्टी भएको समेत उल्लेख गर्नुभयो । उहाँले नेकपा एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि बताउनुभयो । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरू सडक संघर्षमा जान बाध्य हुने पनि उहाँले चेतावनी दिनुभयो ।