अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका तीनवटा प्रदेशमा आज हल्का हिमपातको सम्भावना

देशका तीनवटा प्रदेशमा आज हल्का हिमपातको सम्भावना


काठमाडौं -आज शुक्रबार देशका तीनवटा प्रदेशमा हल्का वर्षा–हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ भने यतिबेला शुक्रबार बिहान पहाडी भेगमा मौसम आंशिक बदली छ र तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लागिरहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा यिनै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
बागमती प्रदेशअन्तर्गत काठमाडौंमा उपत्यकामा भने वर्षाको सम्भावना निकै कम रहेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो । ‘डाँडातिर फाटफुट वर्षा होला कि’,उहाँले भन्नुभयो ‘नत्र काठमाडौंमा आजलाई वर्षाको खासै सम्भावना देखिएको छैन।
यस्तै बिहान ६ बजेतिरको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य अर्थात् ५।० डिग्री सेल्सियस रहेको जानकारी पनि मौसमविद् प्रधानांगले दिए। पुनः बिहान पौने ९ बजे यसको अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ।

महाशाखाका अनुसार आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।