काठमाडौं-वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । उनले भूमिहीन सुकुम्बासी नागरिकमाथि भइरहेको व्यवहारप्रति आपत्ति जनाउँदै उनीहरूको आवास र जीविकोपार्जनको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि भइरहेको अमानवीय व्यवहारविरुद्ध आयोजित नागरिक ऐक्यबद्धता तथा विरोध कार्यक्रममा बोल्दै प्याकुरेलले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथमा व्यापार गरेर गुजारा चलाउने नागरिकमाथि गरिएको व्यवहारलाई त्यतिबेला नजरअन्दाज गरिएकाले अहिले सुकुम्बासीमाथि पनि त्यस्तै अवस्था आएको उनको तर्क थियो । फुटपाथ व्यापारीमाथि गरिएको दमनकै निरन्तरता अहिले भूमिहीन नागरिकमाथि देखिएको उनले बताए ।
प्याकुरेलले भने, ‘जतिबेला हामीले बालेनलाई काठमाडौं महानगरपालिकाको मेयर बनायौँ, त्यसको सबैभन्दा पहिलो आक्रमणमा फुटपाथमा बसेर सामान बेचेर घरगुजारा चलाउनेहरू परे । हामीले बालेनको त्यो गतिविधिलाई नजरअन्दाज गर्यौँ ।’
मुलुकमा भएका राजनीतिक परिवर्तनपछि पनि नागरिकले अपेक्षाअनुसारको उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै उनले प्रत्येक परिवर्तनपछि जनताले धोका पाउँदै आएको बताए । जेनजी आन्दोलनपछि युवालाई शासन सञ्चालनको जिम्मेवारी दिइए पनि उनीहरूको कार्यशैलीमाथि नागरिक समाजले पर्याप्त निगरानी गर्न नसकेको उनको भनाइ थियो ।
‘देशमा धेरै परिवर्तन भएका छन्, तर हरेक पटकको परिवर्तनपछि हामीले धोका पाएका छौँ,’ उनले भने, ‘त्यही धोकाको फलस्वरूप युवाहरूले आन्दोलन गरे । नवयुवालाई देश सुम्पियौँ, तर उनीहरूमा के थियो भन्ने कुरा हामीले हेरेनौँ ।’
सुकुम्बासी नागरिक नदी किनार तथा फोहोर र अव्यवस्थित क्षेत्रमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने बताउँदै प्याकुरेलले उनीहरूको उचित व्यवस्थापन नगरी बलपूर्वक हटाउनु राज्यको जिम्मेवारीबाट पन्छिनु भएको टिप्पणी गरे ।
उनले सरकार गठन भएलगत्तै डोजर लगाएर सुकुम्बासी बस्ती हटाइएको र व्यवस्थापन गर्ने भन्दै आश्रयस्थलमा राखिएका नागरिकलाई अहिले फेरि खाली गर्न निर्देशन दिनु गैरजिम्मेवार कदम भएको बताए ।
‘सुकुम्बासी नागरिकहरू सहर आएर नदी किनारमा, फोहोर ठाउँमा किन बस्न बाध्य भए ? त्यसप्रतिको दायित्व कसको हो त ? आज यो सरकार बन्नासाथ सुकुम्बासीमाथि डोजर लगाएर हटाइयो र काठमाडौंलाई सुन्दर बनाइन्छ भनियो । सुकुम्बासीको व्यवस्थापन गर्छौँ भनेर आश्रयस्थलमा राखियो । अहिले आएर खाली गर भनेर उर्दी जारी गरियो । कस्तो दायित्वहीन सरकार !’ उनले भने ।
करिब पाँच दशकदेखि मानव अधिकारका विषयमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले अहिले नागरिकको आवतजावत गर्ने अधिकारसँगै बस्न पाउने अधिकारका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।
‘यहाँ त राइट टु स्टे (बस्न पाउने अधिकार) भनेर लड्ने बेला आयो,’ प्याकुरेलले भने ।
उनले राज्यले नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्दै भूमिहीन सुकुम्बासीका लागि आवास, जीविकोपार्जन र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सुकुम्बासी समस्यालाई बल प्रयोग गरेर समाधान गर्न खोज्नुभन्दा उनीहरूको अवस्थाको कारण पहिचान गरी सम्मानजनक पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया