अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धौलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट

धौलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट


बागलुङ – बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो ।

एक महिनाअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो । मुख्यमन्त्रीको कार्यालयले पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएको औषधालयका प्रमुख डा सरोजकुमार रायले बताउनुभयो । यसअघि पनि औषधालय प्रदेशकै उत्कृष्ट काम गर्ने कार्यालयका रुपमा पुरस्कृत भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । औषधालयले कोरोना महामारीका बेला उल्लेख्य काम गरेको थियो । औषधालयले जिल्लाका विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर योग शिविर सञ्चालन गर्दैआएको छ । कोरोना सङ्क्रमितको घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो ।

कार्यालय प्रमुख रायलाई निजामती पुरस्कार

गण्डकी प्रदेश सरकारले प्रदान गर्ने प्रदेश निजामती सेवा पुरस्कारका लागि धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा सरोजकुमार राय छनोट हुनुभएको छ । स्थापना दिवसका अवसरमा प्रदान गरिने उक्त पुरस्कारका लागि रायसहित १३ कर्मचारीलाई छनोट गरिएको हो ।  

प्रदेश सरकारले सर्वोत्कृष्ट प्रदेश निजामती सेवा कर्मचारी पुरस्कार एक जनालाई, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार दुई जनालाई र प्रदेश निजामती सेवा पुरस्कार १३ जनालाई प्रदान गर्ने गरेको छ ।