अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खगेन्द्र सुनारको अडियो प्रकरण

सुनारको अडियो प्रकरणमा सरकारबाट पनि छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

सुनारको अडियो प्रकरणमा सरकारबाट पनि छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग


काठमाडौं– नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणमा सरकारले समेत निष्पक्ष र स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले एक महिलालाई धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि घटनालाई सम्बन्धित राजनीतिक दलको आन्तरिक छानबिनमा मात्र सीमित गर्न नहुने बताएका हुन्।

‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ,’ उनले भनेका छन्।

आचार्यले शोषित, पीडित र दलित समुदायको न्यायका पक्षमा आवाज उठाउने व्यक्ति नै महिलालाई डर र धम्की दिएको आरोपमा मुछिनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। महिला र दलितको अधिकार तथा सम्मानको रक्षा गर्नु फरक विषय नभएको उल्लेख गर्दै उनले कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न नहुने बताएका छन्।

‘सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स होइन,’ आचार्यले भनेका छन्, ‘आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुनअनुसार कारबाही हुनुपर्छ।’

उनले घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा घटनासँग जोडिएकी भनिएकी महिलाको सुरक्षा सुनिश्चित गर्न पनि सरकारसँग माग गरेका छन्।

सुनारमाथि एक महिलालाई धम्की दिएको आरोपसम्बन्धी अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे छानबिन गर्ने जनाएको छ । आरोपबारे स्वतन्त्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत उठिरहेको छ ।