काठमाडौं-नेकपा (एमाले) की वरिष्ठ नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नुवाकोटको विदुर नगरपालिका-१ स्थित ढुङ्गे बगर क्षेत्रको स्थलगत अवलोकन गरेकी छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार भण्डारी त्यहाँ पुगेकी हुन्। अवलोकनका क्रममा उनले बाढीले पुर्याएको भौतिक क्षति, स्थानीय बासिन्दाले भोगिरहेका समस्या तथा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका प्रयासबारे जानकारी लिइन्।
भण्डारीले बाढीबाट क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुका साथै प्रभावित स्थानीयको अवस्थाबारे चासो राखेकी थिइन्। उनले बाढीपछि स्थानीय बासिन्दाले भोग्नुपरेका कठिनाइ र प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिएकी हुन्।
सो क्रममा उनले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य संरचनाको पुनर्निर्माणका लागि भइरहेका कामबारे पनि जानकारी लिएकी थिइन्। भण्डारीले प्रभावित क्षेत्रको अवलोकनसँगै नवनिर्मित बेलिब्रिजको समेत निरीक्षण गरेकी छन्।
बाढीबाट प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन निर्माण गरिएको बेलिब्रिजको अवलोकन तथा स्थानीयको अवस्थाबारे जानकारी लिने क्रममा उनको भ्रमण भएको हो।



प्रतिक्रिया