अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, खतिवडा दुई हजार ९१९ र सिवाकोटी दुई हजार १७२ मत प्राप्त गरेर सहमहामन्त्री निर्वाचित भएका हुन्। कांग्रेसका खुलाबाट दुई वटा सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। 

खुलातर्फ सहमहामन्त्रीका लागि नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। मतपरिणामअनुसार तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत प्राप्त गरेका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले एक हजार ३८२, राजीव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९ र अमृतकुमार अर्यालले एक हजार ३९ मत प्राप्त गरेका छन्। रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत पाएका छन्।

खुलातर्फको सहमहामन्त्री पदका लागि सात हजार ४५ मत खसेको थियो।

खतिवडा पछिल्लो समय देउवा समूह छाडेर मूलधारमा फर्किएका नेता हुन्। उनी गत असोज २ गते देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए। देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये पदाधिकारीमा निर्वाचित हुने उनी दोस्रो नेता बनेका छन्।

यसअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फबाट निर्वाचित भएका थिए।