अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचन : धनगढी उपमहानगरमा मेयरका सम्भावित उम्मेद्‌वार को-को छन् ?

स्थानीय निर्वाचन : धनगढी उपमहानगरमा मेयरका सम्भावित उम्मेद्‌वार को-को छन् ?


धनगढी – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायत यावत सवालमा अहिले जताततै चर्चा परिचर्चा छ । त्यसमाथि सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीलाई अझ विषेश रुपमा हेरिन थालिएको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आमरुपमा देखिन्छ ।

स्थानीय चुनावका लागि धनगढीमा दलहरूले उम्मेदवार छान्न सुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खास गरी प्रमुख राजनीतिक दल नेकपा एमाले, नोपली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ ।

धनगढी उपमहानगरपालिकाको मेयरका लागि उद्योगी, व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा नै गरिसकेका छन् । अघिललो निर्वाचनमा पनि स्वतन्त्र रूपमा मेयर पदमा पराजित भएका हमालले यस पटक पुनः स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिन उहाँले विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक पदबाट राजीनामा समेत दिइसक्नु भएको छ । गत निर्वाचनमा हमाल नृपबहादुर वडसँग २ हजार ७०० मत अन्तरले पराजित भएका थिए ।

धनगढी उपमहानगरपालिकाको मेयरमा कुनै पनि राजनीतिक दलले भने हालसम्म उम्मेदवारको टिकट वितरण गरिसकेका छैनन् । तर सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । हालसम्म प्रमुख राजनीतिक दलबाट चर्चामा रहेका उम्मेदवारको विवरण यस्तो छ ।

नेकपा एमाले

नेकपा एमालेबाट कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । दुर्गा जोशी २०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमै पराजित हुनु भएका थिए। सो निर्वाचनमा जोशी करीब नौ हजार मत ल्याउँदै चौथो स्थाननमा खुम्चिएका थिए । मेयरमा पराजित जोशीलाई सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । जोशी धनगढीको मेयरमा पुनः उम्मेदवार बन्ने दौडधुप गरिरहेका एमाले निकट नेता बताउँछन् ।

एमालेबाट मेयरका अर्का सम्भावित उम्मेदवार रण्बहादुर चन्द लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि हालसम्म आम निर्वाचनमा उहाँले चुनाव लडेका छैनन् । एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गरिसकेका चन्दले राम्रो पकड बनाउनु भएको छ । खास गरी उहाँलाई इमान्दार राजनीति कर्मीका रूपमा सबैले चिन्ने गरेका छन् । उनै चन्द यसपटक भने धनगढीको मेयरका लागि टिकट पाउन दौडधुप गरिरहेका छन् । पार्टीमा लामो समय सम्म योगदान दिए पनि कुनै अवसर नपाएका कारण यस पटक उनको सम्भावना बलियो देखिन्छ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसबाट मेयर पदका लागि वर्तमान मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराको चर्चा हुन थालेको छ ।

२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७०० मतले पराजित गर्दै नृपबहादुर वड मेयरमा विजयी भएका थिए । उहाँले अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै घोषणासमेत गर्न थालेका छन् । आफूले नगरको विकासका लागि स्पष्ट खाका बनाएको र सो अनुसार काम गरेर देखाउनका लागि आफू पुनः मेयरमा उम्मेदवार हुन पाउने पर्ने उहाँको जिकिर छ ।

यसैगरी धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टको नाम पनि यस पटक मेयरको उम्मेदवारका रुपमा चर्चामा आएको छ । अर्को चुनावमा उपमेयर पदमै नदोहोरिने घोषणा गरिसक्नु भएका उपमेयर भट्टले मेयरको टिकका लागि पार्टीमा लविङ सुरु गरेको बताइन्छ । नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षकका रुपमा समेत काम गरिसकेका भट्टको केन्द्रमा राम्रो पहुँच भएका कारण उहाँले टिकट पाउन सक्ने आंकलन समेत गर्न थालेको छ । उहाँ कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।

कांग्रेसका नेता तथा व्यवसायी कृष्णबहादुर महराको नाम पनि मेयरको उम्मेदवारका रूपमा आउन थालेको छ । २०७४ को निर्वाचनमा महरा मेयर पदका लागि निक्कै दाबेदार थिए । तर, अन्तिम समयमा उनको हातबाट टिकट खोसिएको थियो । जसकारण यस वर्ष उनले टिकट पाउन सक्ने आंकलन छ ।

माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रबाट शान्ति अधिकारी र बलबहादुर ऐरलाई मेयरको आकांक्षीका रूपमा चर्चा हुन थालेको छ । तर, माओवादी केन्द्रले भने पार्टीको निर्णय नभएसम्म कसैलाई उम्मेदवारको दाबेदावर भन्न नमिल्ने जनाएको छ । ‘अरु पार्टी जस्तो दाबेदारका भरमा आम्रो पार्टीमा टिकट पाइँदैन, ’माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य रमेश धामीले भने, ‘पार्टीको निर्णयले नै आधिकारिक उम्मेदवार घोषणा गर्नेछ  ।’

शान्ति अधिकारी गत स्थानीय निर्वाचनमा माओवादीबाट उपमेयर पदमा चुनाव लडेकी थिइन् । तर, उहाँ पराजित हुनु भएको थियो । शिक्षा व्यवसायी अधिकारीलाई शिक्षित वर्गका रूपमा हेरिने गर्छ । यसैगरी माओवादीबाटै मेयरपदका सम्भावित उम्मेदवार भन्दै चर्चामा आएका बलबहादुर ऐर धनगढी–३ का वडा अध्यक्ष हुन् । वडा अध्यक्ष हुनु अघि खासै चर्चामा नरहेका ऐरले अनपेक्षित रूपमा वडा अध्यक्ष पद जितेपछि उहाँ चर्चामा छन् । उहाँले  विकासप्रेमी नेताको छवि बनाएका छन् ।

एकीकृत समाजवादी पार्टी

नेकपा एकीकृत समाजवादी पार्टीबाट सो पार्टीका धनगढी नगर अध्यक्ष मदन रेग्मीको नाम चर्चामा आउन थालेको छ । लामो समय नेकपा एमालेमा राजनीति गरेका रेग्मी सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उहाँ नेकपा एमाले निकट युवा संघको केन्द्रीय सचिव समेत भएका थिए । अहिले उहाँ नेकपा एसको नगर अध्यक्ष छन् । यसका अलावा सो पार्टीबाट नै मेयरमा चुनाव लड्ने भन्दै व्यवसायी राजेश भण्डारीको नाम समेत चर्चामा छ । तर, भण्डारी अहिलेसम्म नेकपा एसमा खुलेर लागेका छैनन् । उहाँ यसअघि नेकपा एमालेमा आवद्ध थिए ।