अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूपीलाई कविताहरु मार्फत महसुस गर्छु : कान्ति शेरचन

भूपीलाई कविताहरु मार्फत महसुस गर्छु : कान्ति शेरचन


काठमाडौं – कवि भूपी शेरचनकी पत्नी कान्ति शेरचनले कविताहरूको माध्यमले आफू एक्लोपन महसुस गर्नु नपरेको बताउनु भएको छ । ‘मैले यी कविताहरूमै भूपीलाई महसुस गर्ने गरेकी छुँ । उहाँको कविताबाट प्रभावित भएर फिल्म बन्नु सुन्दर पक्ष हो’ कान्तिले भन्नुभयो । उहाँले पाँच दशकअगाडि भूपीद्वारा लिखित कवितालाई अहिलेका युवा पुस्ताले पनि रिलेट गर्नु नै दूरदर्शिताको प्रमाण भएको बताउनु भयो । ’यो पुस्ताले पनि भूपीको साहित्यलाई रुचाउँदा मन खुसी हुन्छ  । उनको दूरदर्शिताको यो नै प्रमाण हो,’ उहाँले भन्नुभयो ।

भूपी शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपीको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।

गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई प्रस्तुत गरिएको फिल्म ’चिसो एष्ट्रे’ को प्रिमियर समारोहमा भएको छोटो कार्यक्रममा भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘चिसो एष्ट्रे’को गत मंगलबारसाँझ भएको प्रिमियरमा उपस्थित फिल्मकर्मीले तारिफ गरेका छन् । फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सेलिब्रेटीहरूले फिल्मको कथावाचन र दृश्यभाषामा फरक पन देखिएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि अभिनेता सन्तोष पन्तले आफूलाई नेपाली नभई हलिउड फिल्म हेरिरहेको भानभएको प्रतिक्रिया दिएका थिए ।

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोषझैं नेपाली फिल्म हलिउडजस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताउनु भयो । लूट फिल्म निर्देशन गरेर स्थापित भएका निर्देशक निश्चल बस्नेतले फिल्मको स्क्रिप्ट पर्दामा उतार्ने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्नुभयो ।

अभिनेता राजेश हमालले आफ्नो स्वादमा पर्ने फिल्म हेर्न पाएको प्रतिक्रिया दिनुभयो । साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताउनु भयो । अभिनेता खगेन्द्र लामिछानेले पनिआफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताउनु भयो ।

प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताउनु भयो । कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको फिल्ममा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको प्रतिक्रिया प्राप्त भएको हो ।

फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका छ ।

कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित फिल्मलाई प्रविन स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।