अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौबीस घण्टापछि उठाइयो मजदुरको शव

चौबीस घण्टापछि उठाइयो मजदुरको शव


भक्तपुर- चाँगुनारायण नगरपालिका–९ ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका दुई मजदुरको शव २४ घण्टापछि उठाइएको छ ।

जग्गा प्लटिङ गर्ने चम्पा कुस्माको लापरवाहीका कारण भएको घटनामा परी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–३ घर भई भक्तपुर जगाती बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घर भई बनेपा बस्ने ३२ वर्षीय चतुरमान तामाङको शुक्रबार अपरान्ह् ५ बजे ढिस्कोले पुरिँदा मृत्यु भएको थियो । पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीय र पीडितका आफन्तले शव उठाउन नदिएपछि शनिबार दिनभर घटनास्थलमै शव रहेको थियो ।

शनिबार दिउँसो वडा नं ९ कार्यालयमा वडाध्यक्ष गणेश त्यातको नेतृत्वमा भएको दुई पक्षबीचको छलफल सहमतिमा पुगेपछि शव उठाएर परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।

छलफल र सहमतिबारे जानकारी दिँदै वडाध्यक्ष त्यातले दुई मृतक मजदुरका परिवारलाई जनही र १५ लाखका दरले रु ३० लाख क्षतिपूर्ति दिने सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतककी पत्नी र बच्चाका लागि एक परिवारलाई रु १५ लाखका दरले क्षतिपूर्ति दिने र शव उठाउने सहमति भएको हो ।

प्रहरीले दुई मजदुरको मृत्यु हुँदा क्षतिपूर्तिबारे बेवास्ता गर्दै शुक्रबार साँझ शव उठाउन खोजेपछि स्थानीय र पीडितका आफन्तले नाराबाजी गरेर अवरोध गर्दा प्रहरीले २४ घण्टासम्म मृतकको शव उठाउन सकेको थिएन ।