काठमाडौँ-त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था अज्ञात रहेको भन्दै पीडित परिवारले सरकारलाई ध्यानाकर्षण गराउन माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका परिवारजनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुस्त भएको भन्दै सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्। कि सास कि आश भन्ने त भनाइ नै छ। “आफन्तको खोजी कहिलेसम्म?” भन्दै उनीहरूले राज्यको उदासीनताप्रति आक्रोश व्यक्त गरे। लामो समयदेखि पर्खाइमा रहेका परिवारले बेपत्ताको यथार्थ जानकारी सार्वजनिक गर्न र खोजी कार्यलाई तीव्रता दिन दबाब स्वरूप यो प्रदर्शन गरेका हुन्।
तर अहिलेसम्म उनीहरूको अत्तोपत्तो छैन। १३ दिनदेखि उनीहरू बेपत्ता छन्। जलविवद्दुत आयोजनाबाट केहीको मात्र उद्धार हुन सकेको छ।
रसुवा र नुवाकोटको सीमा क्षेत्रमा रहेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको उक्त क्षेत्रमा भोटेकोशीको बाढी र लेदो-पहिरोपछि ४३ जना बेपत्ता भएको बेपत्ता सूचीमा दर्ज भएका छन् ।
यसअघि शुरूआती चरणमा करिब १९८ देखि २०१ जना कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन रहेको खबर आएको भए पनि पछि विवरण संकलन र सम्पर्क स्थापना पश्चात आयोजनाको क्याम्प क्षेत्रमै लेदोले पुरिएर ४३ जना बेपत्ता भएको पुष्टि भएको हो ।
नेपाली सेना सहितको टोलीले अत्याधुनिक उपकरण, ड्रोन र एक्साभेटर प्रयोग गरी निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेको छ। यद्यपि सफलता भने हासिल भएको छैन ।







प्रतिक्रिया