अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीका १६१ शव काठमाडौं ल्याइए, २३ शव मात्रै पहिचान

भोटेकोशी बाढीका १६१ शव काठमाडौं ल्याइए, २३ शव मात्रै पहिचान


काठमाडौं-भोटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोटबाट संकलन गरिएका १६१ शव काठमाडौं ल्याइएको छ। तीमध्ये २३ वटा शव मात्रै पहिचान भई आफन्तले बुझेर लगेका छन्।

पहिचान हुन नसकेका शवलाई ‘व्यवस्थापन संरक्षण’ गर्ने तयारी गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार शवको पोष्टमार्टम तथा डीएनए नमुना संकलन गर्ने काम आइतबारदेखि सुरु गरिएको हो।

सोमबार बिहान १० बजेसम्म ५० वटा शव व्यवस्थापनका लागि तयार भइसकेका छन्। बाँकी शवको पनि दिनभर पोष्टमार्टम गरी डीएनए नमुना सुरक्षित राखेपछि व्यवस्थापन गरिने एसपी थापाले बताए।

काठमाडौं ल्याइएका शवहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका छन्। अस्पतालमा आफन्तको शव खोज्न तथा दाबी गर्न आउनेको भीड लागेको छ। दावीकर्तालाई शव हेर्न दिने र आफन्त भएको प्रमाणित भएपछि शव जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौं ल्याइएका ८५ वटा शवलाई आईसीआरसी प्रोटोकलअनुसार व्यवस्थापन संरक्षण गरिएको थियो। भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा ती शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो।

व्यवस्थापन गरिएका शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भविष्यमा कसैले ती शवमध्ये आफ्नो आफन्त भएको दाबी गरेमा दावीकर्ताको पनि डीएनए नमुना संकलन गरी शवसँगको नमुना मिलाइनेछ। डीएनए परीक्षणबाट नमुना मिलेमा शव उत्खनन गरी आफन्तलाई बुझाउने व्यवस्था रहेको एसपी थापाले बताए।

उनका अनुसार व्यवस्थापन गरिएका शव नगल्ने गरी सुरक्षित अवस्थामा राखिएका छन्। काठमाडौं ल्याइएका थप शवलाई पनि सोही वन क्षेत्रमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।