काठमाडौं-रसुवाबाट सुरु भएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न स्थानबाट एक हजार ३५५ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये केही मानव अङ्गसमेत समावेश रहेका छन् भने ९८ शवको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३६३ शव फेला परेका छन्। त्यसपछि नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव भेटिएका छन्। शव खोज तथा पहिचानको कार्य अझै जारी रहेको प्राधिकरणले जनाएको छ।
बाढीपछि करिब चार हजार ९९६ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। रसुवा जिल्ला प्रशासन कार्यालयले एक हजार ९६७ जना तथा नुवाकोट प्रशासनले दुई हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन रहेको तथ्यांक अद्यावधिक गरेको छ। यसबाहेक करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र ५८९ विदेशी नागरिक पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्।
उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ भने ६ हजार ६७२ घाइतेको उपचार गरिएको छ। विभिन्न अस्पतालमा उपचाररत ३२३ घाइतेमध्ये २२८ जना उपचारपछि घर फर्किसकेका छन्।
बाढी प्रभावित नागरिकका लागि स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा हाल तीन हजार ५३३ जना आश्रय लिएर बसिरहेका छन्। तीमध्ये नुवाकोटमा दुई हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्।
उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा सुरक्षा व्यवस्थापनका कार्य निरन्तर जारी रहेको छ।


प्रतिक्रिया