अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीको सुनकोसी गाउँपालिकामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

सिन्धुलीको सुनकोसी गाउँपालिकामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय


काठमाडौँ – सिन्धुलीको सुनकोसी गाउँपालिकामा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगर्ने औपचारिक निर्णय गरेको छ ।

वैशाख ३ गते शनिबार कांग्रेसका ७ वडाका सभापतिहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । वडा नम्बर १ का सभापति रामकुमार श्रेष्ठ, २ का सभापति विज्जु मोक्तान, ३ का सभापति विशु सूर्यवंशी, ४ का अध्यक्ष हरिकुमार योञ्जनफ ५ का अध्यक्ष अर्जुन विक्रम थापा, ६ का अध्यक्ष होमप्रसाद तिमल्सिना र ७ नम्बरका अध्यक्ष उत्तमकुमार लामको संयुक्त बैठकले माओवादीसँग चुनावी तालमेल र गठबन्धन नगर्ने निर्णय गरेको छ ।

सभापतिहरूले कुनै पनि दलसँग गठबन्धन नगरी एकल उम्मेदवारी दिने निर्णय गरेका छन् । उक्त निर्णयको जानकारी, क्षेत्र, जिल्ला र प्रदेश कमिटीलाई गराइ सकेको छ । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रको प्रमुख र उपप्रमुख विजयी भएका थिए । ७ वडामध्ये तीन वडामा एमाले, दुई–दुई वडामा नेपाली कांग्रेस र माओवादी विजयी भएका थिए ।

यस्तो थियो २०७४ को परिस्थिति

सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपा बोहराले ३ हजार ४३३ मत प्राप्त गरी विजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कपिल कोइरालाले ३ हजार २१२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दीर्घसिंह मोक्तानले ३ हजार ४५४ मत प्राप्त गरी विजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शान्ता कार्कीले ३ हजार २६८ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै, सुनकोसी गाउँपालिकाका ७ वडामध्ये नेपाली कांग्रेसले दुईवटा वडा, एमालेले तीनवटा वडा र माओवादी केन्द्र दुई वडामा विजयी भएका थिए । वडा नम्बर–१ मा कांग्रेसका विमलमान मोक्तान, वडा नम्बर–३ मा पनि कांग्रेसकै रामचन्द्र आचार्यको प्यानल विजयी भएको छ भने वडा नम्बर–२ मा एमालेका भोजकुमार सिंजाली, वडा नम्बर–४ मा एमालेकै शंकर जर्गामगर र वडा नम्बर–६ मा पनि एमालेकै लक्ष्मीप्रसाद तिमल्सिनाको प्यानल नै विजयी भएको थियो । त्यस्तै, वडा नम्बर–५ मा माओवादी केन्द्रका सन्तोष ढकाल, वडा नम्बर–७ मा सोही पार्टीका लालबहादुर गोलेको प्यानल विजयी भएका थिए ।