अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङमा कार्यकर्ताले लगाए कांग्रेस पार्टी कार्यालयमा ताला, मेयरको टिकटमा असन्तुष्टि

खोटाङमा कार्यकर्ताले लगाए कांग्रेस पार्टी कार्यालयमा ताला, मेयरको टिकटमा असन्तुष्टि


खोटाङ – खोटाङमा मेयरको टिकटमा असन्तुष्टि जनाउँदै कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट धर्मराज पोख्रेललाई दिएपछि अर्को समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

पोख्रेल राप्रपाबाट चार वर्ष पहिले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । अर्को समूहले कांग्रेस खोटाङका उपसभापति तिर्थराज भट्टराईलाई उम्मेदवार बनाउनु पर्ने माग गरेका हुन् । तर प्रदेश नं १ को कांग्रेस संयन्त्रले आइतबार राति पोख्रेललाई मेयरको टिकट दिने निर्णय गरेको हो । दिक्तेलमा नेपाली कांग्रेसले मेयर र उपमेयर माओवादीको भागमा परेको छ ।

यता एमालेले यहाँ मेयरमा कुमार आचार्यलाई उठाउने सहमति भए पनि उपमेयरमा हालकै उपमेयर विणादेवी राई र राजकुमारी राईको नाम सिफारिस भएको थियो । विणादेवीले उपमेयरमा दोहोरिन अस्वीकार गरे पनि पार्टीले उनलाई सिफारिस गरेको थियो ।

तर विणादेवीले सुरुमा उपमेयरको टिकट आफूले नलिने भन्दै राजकुमारीलाई नै दिन भनेकी थिइन् । राजकुमारीले टिकट पाएपछि एमालेभित्र पनि विरोध भएको थियो । विरोधपछि एमालेले पुनः विणादेवीलाई नै उपमेयरको टिकट दिने निर्णय गरेको छ । उम्मेदवारी दर्ताको अन्तिम दिनसम्म पनि दलहरुले अझै टिकट वितरणको टुंगो लगाउन सकिरहेका छैनन् ।