काठमाडौं– उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ।
विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको जनाएको उल्लेख गरेको छ।
मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै विभागले उक्त अवधिभर पर्यटकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्राको अनुमति लिएका पदयात्रीलाई समेत सम्भावित जोखिमबाट बच्न पदयात्रा नगर्न आग्रह गरेको छ।
विभागका अनुसार जोखिम रहेको उक्त अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा गर्ने अनुमति मंगलबारदेखि जारी नगरिने जानकारी गराइएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मौसमको प्रतिकूलताबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेका छन्।




प्रतिक्रिया