काठमाडौं–नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। भेलामा केन्द्रीय कमिटीदेखि स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
राष्ट्रिय भेलाको तयारीका क्रममा २०८३ असोज १० गते मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए।
उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयका आधारमा पार्टीलाई एकताबद्ध बनाउँदै नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउन राष्ट्रिय भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि भेलाले पार्टी पङ्क्तिलाई प्रेरित गर्ने उनको भनाइ थियो।
उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिए। २०८२ सालको निर्वाचनको परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा पार्टीले लिएको उल्लेख गर्दै उनले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताए।
‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भने।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको सन्देश पार्टी पङ्क्ति र जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उनले आग्रह गरे।
बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराए। उनका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जना सहभागी हुनेछन्।
एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन्।
त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ। पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।
संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुने एमालेले जनाएको छ। जनसंगठनबाट ९६ जनाको सहभागिता रहनेछ।
एमालेले राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि नेता तथा कार्यकर्तालाई एकताबद्ध रूपमा परिचालित गर्ने अवसरका रूपमा लिएको छ।
बैठकमा पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाललगायत नेताहरूको उपस्थिति रहेको थियो।





प्रतिक्रिया