लुम्बिनी-लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोधमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको आरोपमा पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान रिहा भएका छन्।
सोमबार राति पक्राउ परेका खानलाई मंगलबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा उनका भाइ फकरुद्दिन खानको जिम्मा लगाएर प्रहरीले रिहा गरेको हो। खानसँगै पक्राउ परेका अर्का अभियानी वाजिउद्दिन मुसलमान पनि रिहा भएका छन्।
खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा सोमबार राति साढे १० बजे लुम्बिनीस्थित प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्याएको उनको आरोप छ। त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सहमति जनाएपछि रिहा गरिएको खानले बताएका छन्।
रिहापछि पत्रकारहरूसँग कुरा गर्दै खानले लुम्बिनीको हकहित, विकास र संरक्षणका लागि आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए। पदाधिकारी नियुक्तिको विषयमा यसअघि नै सम्बन्धित मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गरिएको उनले जानकारी दिए।
लुम्बिनीको विकास, संरक्षण र स्थानीयवासीको हितका सवालमा सरकार गम्भीर नभएपछि बाध्य भएर मन्त्रीको पुत्ला दहन गर्नुपरेको उनको भनाइ छ। पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्तिका रूपमा व्याख्या गरे।
“हामी भाग्ने मान्छे होइनौँ। मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ। तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रूपमा आफ्ना माग राख्छौँ,” खानले भने।
उनले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुनेसमेत बताए। लुम्बिनीको नाममा राजनीति बन्द गरी यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ।
खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारे।
सार्वजनिक स्थलमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा प्रहरीले खान र मुसलमानलाई नियन्त्रणमा लिएको थियो।



प्रतिक्रिया