अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवार

मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवार


वीरगञ्ज – ‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफन्तलाई उम्मेदवार बनाउनुभएको छ ।

पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाउनुभएको हो । मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक थलो जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा श्रीमती जुलेखा खातुनले उम्मेदवारी दिनुभएको छ । खातुनले जसपाबाट उम्मेदवारी दिनुभएको हो ।

मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षको उम्मेदवार बन्ने हल्ला चलेपछि उपाध्यक्ष बीसमिला खातुन जनता समाजवादी पार्टी ९जसपा० पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएको थियो । जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुन सरकारी गाडीमा चढेर उपाध्यक्ष पदको भोट माग्दै हिड्न थालेपछि जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएको आरोप बीसमिला खातुनको छ ।

मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुनले सोमबार गाँउपालिकाको उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराउनु भएको हो । उहाँले जसपाबाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो । मधेस आन्दोलनका सहिद परिवारलाई टिकट नदिएको आरोप लागेका बेला जसपाले मुख्यमन्त्रीकै जोडबलमा  पत्नी खातुनलाई उपाध्यक्षमा उम्मेदवार बनाएको आरोप असन्तुष्ट कार्यकर्ताहरूको छ ।

मधेस आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवारलाई जसपाले टिकट नदिएपछि सोमबार उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । राजनीति र पार्टीमा खासै सक्रिय नरहनुभएकी खातुन मुख्य मन्त्रीकी पत्नी भएकाले उपाध्यक्षको उम्मेदवार बनाइएको चर्चा छ ।

उपाध्यक्षमा कांग्रेसबाट बबीता सिंह, नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवीले पनि उम्मेदवारी दिनुभएको छ । जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष जालीम मियाका भाइ महम्मद सलीम मन्सुरले एमालेबाट उम्मेदवारी दिनुभएको छ । कांग्रेसबाट श्रीकान्त यादव, माओवादी केन्द्रबाट मालती उपाध्याय, जसपाबाट कृष्णमोहन यादव, लोसपाबाट महम्मद अफताब मियाँ, जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ।

मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले पनि गाउँपालिका प्रमुखको पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष पदमा यादवले उम्मदेवारी दिनुभएको जानकारी निर्वाचन अधिकृत गौतम भण्डारीले दिनुभएको छ । जनता समाजवादी पार्टीका तर्फबाट गाउपालिका अध्यक्षमा दिपक यादव र उपाध्यक्षमा आस्मोहनी चौधरीले उम्मेदवारी दिनुभएको छ ।

पाँच महिना अगाडि साइकल वितरणको घोटालामा मुछिएका मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवलाई उम्मेदवार बनाइएकोमा पार्टी भित्र व्यापक असतुष्टि रहेको एक कार्यकर्ताले बताए । दीपक यादवलाई विद्यालयसँग भरपाइ लिएर साइकल वितरण नगरेको आरोप लागेको छ ।

कागजी प्रक्रिया मिलान गर्नुपर्ने भन्दै यादवले विद्यालयको आधिकारिक लेटर प्याडमा साइकल वितरण भइसकेको भन्दै भरपाइ गराएर साइकल वितरण नगरेको स्थानीयको आरोप छ ।