काठमाडौँ-बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावका कारण कात्तिक १२, १३ र १४ गते देशका अधिकांश प्रदेशमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले नौबुँदे सर्कुलर जारी गरी सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन निर्देशन दिएको हो।
मन्त्रालयले कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली काटिसकेका किसानलाई कात्तिक १२ गतेअघि नै बाली भित्र्याइसक्न भनिएको छ।
त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र उक्त क्षेत्रमा पुगिसकेकालाई जोखिमयुक्त स्थानबाट टाढा रही सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ।
सम्भावित जोखिमका कारण आवश्यक परेमा स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्न सक्ने मन्त्रालयले जनाएको छ। सवारी आवागमन बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
भारी वर्षा तथा प्रतिकूल मौसमका कारण सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले सम्बन्धित सबै निकायलाई विभिन्न सञ्चारमाध्यमबाट जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यक परेमा विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन भनिएको छ।
त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ।
यस्तो छ सर्कुलर:
* कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउने।
* धानबाली काटिसकेको भए कार्तिक १२ गते (बिहीबार) अघि नै भित्र्याइसक्ने।
* पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने।
* आवश्यक परेमा स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्ने, गराउने। सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पुऱ्याउने व्यवस्था मिलाउने।
* सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने।
* सम्बन्धित सबै निकायले जोखिमबारे आम सर्वसाधारणलाई विभिन्न माध्यमबाट सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
* जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचनाअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने।
* राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्ने, गराउने।
* मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने।



प्रतिक्रिया