अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकी नदीमाथिको बञ्जी, स्विङ र स्काइ साइक्लिङमा पर्यटकको चहलपहल बढ्दो

कालीगण्डकी नदीमाथिको बञ्जी, स्विङ र स्काइ साइक्लिङमा पर्यटकको चहलपहल बढ्दो


बागलुङ-अजङ्गको भीर र गहिरो कालीगण्डकी नदीमाथि फलामका लठ्ठा तानेर बनाइएको पुल। तल हेर्दा मात्रै पनि जिरिङ्ग हुने यो पुलबाट दैनिक सयौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्छन्। पर्वतको कुश्मा बजार र बागलुङको बलेवा जोड्ने यही पुल पछिल्लो समय साहसिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको यस पुलमा सञ्चालन हुँदै आएको बञ्जी जम्प, स्विङ र स्काइ साइक्लिङले पर्यटकलाई आकर्षित गरिरहेका छन्। दसैँको बिदा मनाउन विभिन्न स्थानबाट पर्यटक आउन थालेपछि यहाँको चहलपहल थप बढेको छ। बञ्जी जम्प गर्ने, अरूले गरेको हेर्ने, तस्बिर खिच्ने र रिसोर्टमा बसेर समय बिताउने पर्यटकको उपस्थिति बाक्लो देखिन्छ।

द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जी जम्प २०७७ कात्तिकदेखि सञ्चालनमा आएको हो। बञ्जी सञ्चालनमा आएपछि कुश्मा र बलेवा क्षेत्रको पर्यटकीय गतिविधिमा वृद्धि भएको व्यवसायीको भनाइ छ। कम्पनीले बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ, रिसोर्ट र मेघा ट्रोलजस्ता साहसिक तथा मनोरञ्जनात्मक संरचना पनि सञ्चालनमा ल्याएको छ।

कम्पनीका म्यानेजर सफल थापाका अनुसार बञ्जीसहितका संरचना निर्माण तथा विस्तारमा हालसम्म ९० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। थप साहसिक गतिविधि र पर्यटकीय सुविधा विस्तार हुँदै गएपछि यहाँ आउने पर्यटकको संख्या पनि बढ्दै गएको उनले बताए।

दैनिक तीन सय हाराहारीमा पर्यटक

थापाका अनुसार पछिल्लो समय दैनिक तीन सय हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गरेका छन्। बञ्जी जम्पका लागि दैनिक करिब ५० जनालाई सेवा दिन सकिने क्षमता भए पनि पर्यटकको चाप बढ्दा पालोअनुसार सेवा दिनुपर्ने अवस्था छ।

यहाँ आउने पर्यटकमा नेपालीसँगै भारतीय, बङ्गलादेशी तथा युरोपका विभिन्न देशका नागरिकसमेत रहेको उनले बताए।

‘अहिले पनि दसैँको बिदा मनाउन पर्यटक यहाँ आएको पाएका छौँ। दैनिक सयौँको संख्यामा आउने पर्यटकले बञ्जी जम्पको पुल र रिसोर्ट क्षेत्र भरिभराउ नै हुन्छ। रिसोर्टमा बास बस्न आउनेको संख्या पनि ठूलो छ,’ थापाले भने।

बञ्जी जम्पसँगै अन्य साहसिक गतिविधि सञ्चालनमा आएपछि एकै ठाउँमा विभिन्न अनुभव लिन सकिने भएकाले पनि पर्यटकको आकर्षण बढेको उनको भनाइ छ। यसले आसपासका क्षेत्रमा होटल तथा पर्यटन व्यवसायको गतिविधि बढाउनसमेत सहयोग पुगेको छ।

२०७३ सालदेखि निर्माण, २०७७ देखि सञ्चालन

बञ्जी जम्पका लागि आवश्यक पुल निर्माणको काम २०७३ सालदेखि सुरु गरिएको थियो। २०७६ सालसम्म आइपुग्दा रिसोर्ट निर्माणसमेत सम्पन्न भएको थियो। त्यसपछि आवश्यक तयारी पूरा गरी २०७७ कात्तिकदेखि बञ्जी सञ्चालनमा ल्याइएको हो।

कम्पनीका अनुसार पुलको लम्बाइ ५२५ मिटर र कालीगण्डकी नदीदेखि उचाइ २२८ मिटर छ। कम्पनीले यसलाई विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको गन्तव्यका रूपमा दाबी गर्दै आएको छ।

बञ्जीका संरचनाले दुई जिल्ला जोड्ने भए पनि अधिकांश संरचना बागलुङतर्फ निर्माण गरिएका छन्। यसले बागलुङ र पर्वत दुवै क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको छ।

डरलाई जित्दै बञ्जी गर्ने रहर

यहाँ बञ्जी जम्प गर्न आउनेमा युवादेखि वृद्ध उमेरका व्यक्तिसम्म छन्। कतिपय पर्यटक एकपटक बञ्जी गरेपछि आफ्नो रहर पूरा भएको बताउँछन् भने कतिपयलाई फेरि बञ्जी गर्ने इच्छा जाग्ने गरेको छ। पुलको उचाइ र तल देखिने कालीगण्डकी नदीको दृश्यले पहिलोपटक आउने पर्यटकलाई रोमाञ्चित बनाउने गरेको छ।

मुक्तिनाथ दर्शन गरेर फर्किएका दक्षिण भारतका भरत दासले यहाँको बञ्जीको उचाइ र संरचना देखेर आफू अचम्मित भएको बताए। उनले बागलुङ र पर्वतका विभिन्न स्थानमा घुम्ने क्रममा दुई दिन बिताएको सुनाए।

‘यो बञ्जी निकै खतरनाक छ। म त देख्दै अचम्मित भएँ। बञ्जी गर्ने आँट आएन, तर अरूले निकै हिम्मतका साथ गरेको देख्दा मलाई रमाइलो लाग्यो,’ दासले आफ्नो अनुभव सुनाए।

बञ्जी गर्ने आँट नगरे पनि अरूले गरेको हेर्नु नै आफ्ना लागि रोमाञ्चक अनुभव बनेको उनले बताए। साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकका लागि यो स्थान विशेष आकर्षणको केन्द्र बनेको उनको भनाइ छ।

त्यस्तै, काठमाडौँको बौद्धबाट घुम्न आएका राजु नगरकोटीले पनि बञ्जी जम्पको अनुभव निकै रोमाञ्चक रहेको बताए। सामाजिक सञ्जालमा अरूले बञ्जी गरेको तस्बिर र भिडियो हेर्दै आएका उनले आफैँ बञ्जी गरेपछि फरक अनुभूति भएको सुनाए।

‘ढोरपाटनबाट फर्किएर यहाँ आएका हौँ। बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो। तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदो रहेछ। फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ,’ नगरकोटीले भने।

साहसिक पर्यटनको सम्भावना

प्राकृतिक सुन्दरता, कालीगण्डकी नदीको दृश्य र साहसिक गतिविधिको संयोजनले कुश्मा–बलेवा क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ। बञ्जी जम्पसँगै स्विङ, स्काइ साइक्लिङ र रिसोर्टको सुविधा उपलब्ध हुँदा यहाँ घुम्न आउने पर्यटकले विभिन्न गतिविधिमा सहभागी हुने अवसर पाएका छन्।

पर्यटकको बढ्दो आगमनले स्थानीय होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायमा समेत अवसर सिर्जना गरेको छ। साहसिक पर्यटनलाई व्यवस्थित रूपमा विस्तार गर्न सके यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा थप विकास गर्न सकिने सम्भावना देखिएको छ।