अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’को प्रहार, १५० किमि प्रतिघण्टासम्म हावाको गति

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’को प्रहार, १५० किमि प्रतिघण्टासम्म हावाको गति


काठमाडौँ-भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’को प्रभाव तीव्र बनेको छ। मङ्गलबार रातिदेखि जमिनमा प्रवेश गर्न थालेको चक्रवातका कारण तटीय क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ। हावाको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले जनाएको छ।

आईएमडीका अनुसार चक्रवातको केन्द्रमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर रहेको छ। केही स्थानमा यसको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको छ। पछिल्लो तीन घण्टामा प्रतिघण्टा तीन किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ अघि बढेको चक्रवात सुरुमा उत्तरपश्चिम र त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ।

मौसम विभागले जारी गरेको बुलेटिनमा चक्रवातको ल्यान्डफल प्रक्रिया थप तीन घण्टासम्म जारी रहने उल्लेख छ। बापटला र विशाखापटनमको बीचमा पर्ने यानमको दक्षिणी तटीय क्षेत्रमा चक्रवातको प्रभाव परेको छ। ल्यान्डफलपछि हावाको गति क्रमशः घट्दै जाने अनुमान गरिएको छ।

समुद्री लहर र बाढीको जोखिम

चक्रवातका कारण तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम बढेको छ। आईएमडीले समुद्रमा १.५ देखि २.५ मिटरसम्म अग्ला लहर उठ्न सक्ने चेतावनी दिएको छ। ती लहरका कारण आन्ध्र प्रदेशका तल्लो तटीय क्षेत्र डुबानमा पर्न सक्ने अनुमान गरिएको छ। विशेषगरी काकिनाडा र पुडुचेरीको यानम आसपास समुद्री लहरको प्रभाव बढी पर्ने सम्भावना छ।

अक्टोबर २८ को बिहानसम्म अनकापल्ली र विशाखापटनम जिल्लाका धेरै स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ। लगातारको वर्षा र तीव्र हावाहुरीले तटीय क्षेत्रको जनजीवन प्रभावित पारेको छ।

रुख ढले, सडक अवरुद्ध

चक्रवातको प्रभावले आन्ध्र प्रदेशको काकिनाडामा धेरै रुख ढलेका छन् भने विद्युत्का पोलसमेत भाँचिएका छन्। विशाखापटनमको बिच रोड र सीताम्माधारामा रुख ढलेपछि सडक अवरुद्ध भएको छ। तीव्र हावाहुरी र भीषण वर्षाका कारण यातायात तथा दैनिक गतिविधिमा असर परेको छ।

चक्रवात ‘अर्नब’को प्रभाव भारतको पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा समेत देखिएको छ। त्यहाँ पनि भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ।

मौसम विभागले तटीय क्षेत्रमा बाढी, समुद्री लहर र तीव्र हावाहुरीको जोखिम रहेकाले सतर्कता अपनाउनुपर्ने जनाएको छ।