अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्त मतगणना, मत गन्ने कर्मचारी पारिश्रमिकमा भएनन् सन्तुष्ट

सुस्त मतगणना, मत गन्ने कर्मचारी पारिश्रमिकमा भएनन् सन्तुष्ट


काठमाडौं – मतदान सकिएको चार दिन भयो । तर, काठमाडौं लगायतका महानगरको मतगणना सुस्त छ । मतगणनाको विषयलाई लिएर सामाजिक सञ्जालमा ट्रोल पनि बन्न थालेको छ – ‘मतगणना सक्दा युवा नेता बुढा हुन्छन् ।’ यो रफ्तारमा मतगणना भए भहिनौं सम्म लाग्ने देखिएको छ । कतै कार्यभार समाल्ने बोला हुँदै कतै नतिजाको प्रतिक्षामा बस्नुपर्ने बाध्यता देखिएको छ ।

निर्वाचन आयोगका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा महानगरको ३ प्रतिशत मात्रै मतगणना भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल मतगणनामा प्रारम्भिक समयमा केही ढिलाइ भएको बताउँछन् । ढिलाई भएका ठूला महानगरमा थप टोली खटाउने तयारी भइरहेको उनले बताए । गणक टोली थप गरेर पाँच दिनभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य आयोगले लिएको उनले बताए । ‘काठमाडौं महानगरमा एउटा मतपत्र गणना गर्न थोरैमा दुई मिनेटदेखि बढीमा २० मिनेटसम्म पनि लाग्ने गरेको छ,’ अर्यालले भने ।

मतपत्रको सुरक्षाका लागि तारजाली राखिएपछि गणकले दलका प्रतिनिधिलाई जाली भित्रबाट मतपत्र देखाउनुपर्ने बाध्यता छ । यसले मतगणनामा धेरै ढिलाइ भएको गणकहरूको भनाइ छ । ५२ प्रतिशत मत खसेको काठमाडौंमा कछुवाकै चालमा मत गणना भएको छ । काठमाडौं जस्तै भरतपुर, विराटनगर, पोखरा, वीरगन्ज र ललितपुर महानगरको मतगणनासमेत निकै ढिलो गतिमा छ ।

केही स्थानमा राजनीतिक सहमति जुट्न कठिन हुने गरेका कारण मतगणना ढिलाई भइरहेको छ । केहीमा भने मतपत्रमा लगाइएका मसी अस्पष्ट भएका कारण गणना गर्न कठिनाई भएको छ । मतपत्र ठूलो भएका कारण पनि गणनामा ढिलाई भएको निर्वाचन अधिकृतहरू बताउँछन ।

मतदाताले मत संकेत गर्दा राम्रोसँग मसी नलगाउँदा पनि गणनामा कठिनाई भएको छ । मतपत्रको कलर नीलो र स्वस्तिक छाप अस्पष्ट हुँदा कुनमा संकेत गरेको हो भन्ने ठम्याउन कठिन भएको गणनामा बस्नेको गुनासो रहेको छ ।

कर्मचारीले कम पारिश्रमिक

पहिलाको चुनाव भन्दा यसपालि गणकको पारिश्रमिक पनि कम छ । त्यसैकारण मत गन्ने कर्मचारी पाउन मुस्किल छ । यस अघिका चुनावमा प्रतिसिफ्ट १ हजार पाउनेले यसपालि २ देखि ३ सय मात्रै पारिश्रमिक पाएका छन् । पहिला ८ घण्टाको सिफ्ट थियो । अहिले त्यो पनि छैन । यसले पनि कर्मचारीमा उत्साह कम देखिएको छ ।