अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङमा पत्नीसहित ४ जनामाथि खुकुरी प्रहार, ३ जनाको अवस्था गम्भीर

खोटाङमा पत्नीसहित ४ जनामाथि खुकुरी प्रहार, ३ जनाको अवस्था गम्भीर


खोटाङ-खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा एक पुरुषले ससुराली घरमा गएर श्रीमतीसहित चार जना आफन्तमाथि खुकुरी प्रहार गरेका छन्। घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित आहालेका ४० वर्षीया अञ्जना राई, ६२ वर्षीया सेवन्ता राई, २५ वर्षीया टेमिना राई र नरेन्द्र राई घाइते भएका हुन्।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका-३ का ४३ वर्षीय नइन्द्रकुमार राईलाई पक्राउ गरिएको छ। उनी अञ्जनाका श्रीमान्, सेवन्ताका ज्वाइँ तथा टेमिना र नरेन्द्रका भिनाजु हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ।

खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउको तथा हातमा चोट लागेको छ। उनीहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नरेन्द्रको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार घटना गएराति भएको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनापछि फरार रहेका नइन्द्रकुमारलाई खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विवाद भएपछि नइन्द्रकुमारले ससुराली घरमा सुतिरहेका आफन्तमाथि खुकुरी प्रहार गरेका थिए। पीडित परिवारले भने सबैको सामूहिक हत्या गर्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ।