अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको केन्द्रमा मोहनमायाको ‘इन्ट्री’

कर्णालीको केन्द्रमा मोहनमायाको ‘इन्ट्री’


सुर्खेत– आज दिउँसो निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रनगरले मोहनमाया ढकाललाई वीरेन्द्रनगरको मेयर पदमा विजयी घोषणा गरेसँगै उहाँको परिचय पनि बदलिएको छ । ढकालको परिचयमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो महिला मेयर थपिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयर भएर संसदीय राजनीतिमा प्रवेश गरेकी ढकालको यात्रा सहजरुपमा मेयरको कुर्सीसम्म पुग्यो ।

नेपालको संविधानले स्थानीय तहका दुई मुख्य पद प्रमुख र उपप्रमुख मध्ये एक जना महिला हुनैपर्ने व्यवस्थाको कार्यन्वयन गर्ने क्रममा उपमेयरको टिकट पाएकी ढकालले आफ्नो संसदीय यात्रालाई पाँचवर्षपछि एक सिंढी चढाउनुभयो । उपमेयरको जिम्मेवारी पाएपछि निर्वाह गरेको कुशल भूमिकाका कारण पार्टीले यस वर्ष मेयरको टिकट दियो । ढकालले पाँचवर्षमा पाएका विभिन्न राजकीय र राजनीतिक जिम्मेवारीले पनि उहाँको व्यक्तित्वलाई थप मलजल गर्‍यो ।

ढकाल उपमेयर भएपनि नगरपालिकामा एमालेको बुहमत सहितको संसदीय दलको नेताको हैसियतमा हुनुहुुन्थ्यो । मेयर कांग्रेस पार्टीले जितेको भए पनि अल्पमतमा र उहाँको व्यक्तिगत स्वभावका कारण पनि उपमेयरले गरेका काममा कुनै हस्तक्षेप नगरेको जानकारहरु बताउँछन् । त्यति मात्र हैन कर्णाली प्रदेशको राजधानी सहर भएकोले पार्टीका केन्द्रीय नेताहरुको आवतजावत त्यहाँ बाक्लै हुन्छ नै । ढकाललाई एमालेका केन्द्रका नेताले वीरेन्द्रनगरमा भेट्दा होस वा काठमाडौंमा ‘मेयर साव’ भनेर बोलाउँथे । त्यसैले उपमेयर छँदै उहाँले मेयरको अनुभूति गरिरहनुभएको थियो । त्यती मात्र होइन पाँचवर्षे कार्यकालमा झण्डै एक वर्ष त उहाँले कार्यवाहक मेयर भएरै नगरपालिका सञ्चालन गर्नुभयो । खासगरी कोभिड १९ को पहिलो लहर आएका बेला मेयर देवकुमार सुवेदी घरायसी कारणले विदेशमा बसेकोले निरन्तर ६ महिनासम्म उहाँले कार्यवाहक मेयरको रुपमा कोभिडको त्रासदी पार लगाउने काममा फ्रन्टलाइनमा खट्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ढकाललाई उपमेयर छँदै विभिन्न राजकीय जिम्मेवारी पनि दिएको थियो । प्रधाननमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास परिषदको सदस्यको जिम्मेवारी २०७६ सालमा ढकाललाई दिइयो । नगर विकास कोष (टिडिएफ)को कार्य समिति सदस्यको जिम्मेवारी पनि ढकाललाई नै दिइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले २०७७ सालमा लुम्बिनी बौद्ध विश्व विद्यालयको सिनेट सदस्यको जिम्मेवारी पनि ढकाललाई दिएको थियो ।

कर्णालीको भूगोलमा बसेर एकैचोटी राष्ट्रिय स्तरमा महत्व राख्ने यति धेरै अवसर सायद कमैले पाउँछन् । तर ती ‘भाग्यमानी’ मोहनमाया भइन् । केन्द्रीय तहमा पाएका यी अवसरले ढकालको ‘एक्सपोजर’ काठमाडौंमा ह्वात्तै बढ्यो । आफूले पाएका अवसरलाई मेहनतका साथ पूरा गर्दै जाँदा सिकाइसँगै ढकालको व्यक्तित्व पनि बढेर गयो । यी विविध जिम्मेवारीले कार्यक्षेत्रबाट पटक पटक काठमाडौं आइरहनु पर्दा भनेजति समय आफ्ना नगरबासीलाई नदिएको भनेर कहिलेकाहिँ आलोचना पनि खेप्नु परेको थियो ।

ढकाललाई एमालेका केन्द्रका नेताले वीरेन्द्रनगरमा भेट्दा होस वा काठमाडौंमा ‘मेयर साव’ भनेर बोलाउँथे । त्यसैले उपमेयर छँदै उहाँले मेयरको अनुभूति गरिरहनुभएको थियो । त्यती मात्र होइन पाँचवर्षे कार्यकालमा झण्डै एक वर्ष त उहाँले कार्यवाहक मेयर भएरै नगरपालिका सञ्चालन गर्नुभयो ।

एमालेको जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको रुपमा रहेकी ढकाललाई नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता अर्को अवसर बनेर आइदियो । दुई पार्टी एक भएर नेकपा बनेपछि विभिन्न कमिटीहरु समायोजन भए । त्यसै लटमा ढकाल नेकपाको कर्णाली प्रदेश कमिटी सदस्यमा स्तरोन्नति हुनुभयो । त्यसैगरी अखिल नेपाल महिला संघको समायोजनका क्रममा २०७६ मा ढकाल अनेम संघको केन्द्रीय सदस्य हुनुभयो । यसरी एकपछि अर्को राजनीतिक फड्को मार्दै अघि बढेकी ढकालको राजनीतिको उकालो यात्रा यतिमै रोकिएन । २०७७ साल पुष ५ गते प्रधानन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाको केन्द्रीय कमिटी पनि पुनर्गठन गर्नुभयो । त्यसमा ढकाललाई नेकपाको केन्द्रीय सदस्य हुने अवसर अनायसै आइलाग्यो । ‘खडेरीका पाउला’को उपमा पाएका त्यसबेलाका केन्द्रीय सदस्यहरुको अवधि लामो भएन । करिब अढाइ महिनापछि दुई पार्टीलाई अदालतले विभाजन गरिदिएसँगै ढकालको केन्द्रीय सदस्य पद गयो । तर अभिलेख र परिचयमा नेकपाको ‘पूर्व केन्द्रीय सदस्य’ पगरी भनेर रहिरह्यो ।

काठमाडौंका मिडियामा बेला बेलै छाइरहेका कारण ढकालको पहिचानसँगै व्यक्तित्व निर्माणमा इँटा थपिदै गएको जानकारहरु बताउँछन् । मूधारका मिडियाका भिडियो अन्तर्वार्ता,अन्तर्वार्ता,वीरेन्द्रनगर नगरपालिकासँग सम्बन्धित समाचारमा ढकाल छाइदिंदा मेयर सधैं ओझेलमा नै थिए । त्यस्तै ससाना विषयलाई पनि समाचारको दृष्टि लाएका कारण स्थानीय सञ्चार माध्यमले पनि ढकाललाई पाँचवर्ष राम्रैसँग साथ दिएको देखिन्छ । मिडियाबाट पनि छाइरहने उहाँको स्वभावका कारण पनि आम नगरबासीमा स्थपित हुन ढकाललाई धेरै सहज भएको एमालेका स्थानीय नेताहरु बताउँछन् । ‘मिडिया मेनेज’को यो शैलीले ढकाललाई स्थानीय स्तरमा मात्र होइन एमालेको एउटा वृत्तमा पनि स्थापित गराउँदै लग्यो । नेताहरुले उहाँका अन्तर्वार्ता र समाचारहरु हेरेको आधारमा पनि ‘कर्णालीबाट अघि बढाउन सक्ने महिला’को रुपमा लिंदैगए ।

उपमेयरको कार्यकालको उतराद्र्धतिर आइपुग्दा ढकालको राजनीतिक यात्रा थप चुचुरोतिर उक्लियो । मंसिरमा चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट ढकाल कर्णालीको भूगोलबाट धेरै समकक्षीलाई पछि पार्दै केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । यसले मेयरको टिकट पाउनका लागि उहाँलाई कयौं गुणा सजिलोे बनाइदिएको स्थानीय नेताहरुको भनाइ छ । पार्टीको ‘पोर्टफोलियो’का कारण उहाँको दाबीलार्ई बाहिर राखेर मेयरमा नयाँ उम्मेद्वार बनाउने सम्भावना एकदमै घटेको थियो । जसले गर्दा पार्टीको प्रदेश कमिटीेले ढकाललाई जित्नै पर्ने शर्तमा मेयरको टिकट दियो । पार्टीको त्यो शर्तलाई सहर्ष स्विकारेकी ढकालले अन्ततः वीरेन्द्रनगरमा एमालेको पुनरागमन गराउनुभयो । अघिल्लो पटक एमालेको गुमेको मेयर पदको क्षतिपूर्ति भर्दै उपमेयर सहित ११ वटा वडा पार्टीको पोल्टामा ढकालले राखि दिनुभएको छ ।

‘वीरेन्द्रनगरबासीले गरेको यो अपार विश्वासलाई म खेर जान दिन्न’ विजय जुलुसमा रहेकी ढकालले यो बेलासँग भन्नुभयो ‘पार्टीका नेता कार्यकर्ता, मलाई विश्वास गर्ने सम्पूर्ण मतदाता यो विजयका भागिदार हुनुहुन्छ । म सबैप्रति कृतज्ञता प्रकट गर्दछु ।’