अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको ओरालो यात्रा सुरु भयो : एमाले उपाध्यक्ष पौडेल

गठबन्धनको ओरालो यात्रा सुरु भयो : एमाले उपाध्यक्ष पौडेल


काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताउनुभयो ।

नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरू चिन्न नसकेको भन्दै समाधान दिन नसकेको उपाध्यक्ष पौडेलको भनाइ छ । पौडेलले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएकाले बालुवा चुसेजस्तो निरस भएको टिप्पणी गर्नुभयो । ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ’, पौडेलले नीति तथा कार्यक्रममा दृष्टिकोण र गन्तव्य नभएको भन्दै यसले मुलुकका आजका समस्या नचिनेको र समाधान दिने दृष्टिकोण नभएकाले समयको अपव्यय मात्रै भएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको आरोप पनि लगाए । आर्थिक संकटको बारेमा सरकार मौन रहेको तथा विगत सकारले गरेका राम्रा कामहरूलाई निरन्तरता नदिएर पूर्वाग्रह राखेको पौडेलको भनाई छ ।

‘आजका आर्थिक संकटको कारणबारे यो सरकार पस्नै चाहँदैन । किनभने यो सरकारले अवलम्वन गरेका नीति र निर्णयहरूका कारण मुलुक आर्थिक रुपमा भयानक संकटको सम्मुखमा आइपुगेको छ’, पौडेलले भन्नुभयो, ‘तर त्यसप्रति यसले चुप्पी साँधेको छ । मौनता गर्देको छ ।’ उहाँले हिजोका राम्रा कामहरूलाई निरन्तरता दिन नचाहेको बताउनुभयो ।

नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरूका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको पौडेलको भनाई छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूलाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको पौडेलको आरोप छ ।

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने पनि बताउनुभयो । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुने अबको निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने पौडेलको दावी छ ।

‘यो गठबन्धनको पटाक्षेप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गर्न सक्ने हो, त्यो गरिसक्यो । अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षेप हुन्छ’, पौडेलले भन्नुभयो, ‘आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन ।’