अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चक्रवात ‘अर्नब’को प्रभाव : सतर्क र सुरक्षित रहन एमालेको आग्रह, जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध

चक्रवात ‘अर्नब’को प्रभाव : सतर्क र सुरक्षित रहन एमालेको आग्रह, जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध


काठमाडौँ–नेकपा एमालेले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको भन्दै सतर्क र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

एमालेले केही स्थानमा भारी वर्षा तथा चट्याङको समेत सम्भावना रहेकाले मौसमको अवस्थालाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन, जोखिमयुक्त स्थानमा आवतजावत नगर्न तथा प्राकृतिक विपद्बाट बच्न सतर्क रहन अनुरोध गरेको हो। पार्टीले जोखिमयुक्त स्थानमा आवतजावत नगर्न, प्राकृतिक विपद्बाट बच्न सतर्कता अपनाउन तथा आफ्नो र परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।

यसै सन्दर्भमा,  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव रहेको छ। आज देशका अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा पनि वर्षा तथा हिमपात हुनसक्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षासँगै चिसो बढ्न सक्ने, पहिरो खस्ने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।