अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चक्रवात ‘अर्नब’को प्रभाव: आज देशभर वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव: आज देशभर वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ-बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। केही स्थानमा भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका बाँकी भूभागमा पनि धेरै स्थानमा वर्षा हुन सक्नेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

मौसमविद्हरूका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भइसके पनि त्यसको अवशेष प्रणालीले नेपालमा वर्षा, हिमपात र हावाहुरी गराउनेछ । नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले चक्रवात कमजोर भए पनि त्यसको प्रभाव कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने बताएकी छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ ।

आइतबार र सोमबार भने मौसममा क्रमिक सुधार आउने देखिएको छ । कात्तिक १५ गते देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ । कात्तिक १६ गते पनि हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

कृषि कार्य र हिमाली पर्यटनमा सतर्कता अपनाउन आग्रह

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउने कार्य प्रभावित हुन सक्ने भन्दै महाशाखाले किसानलाई कात्तिक १४ गतेसम्म धान नकाट्न तथा कृषि कार्यमा सावधानी अपनाउन आग्रह गरेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्वतारोहण तथा पदयात्रामा नजान पनि अनुरोध गरिएको छ । उच्च हिमाली क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्लाई ध्यानमा राख्दै हिमाली तथा उच्च पहाडी क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठकले जोखिमयुक्त जिल्लाको अवस्थाबारे निरन्तर सूचना संकलन गर्न, सर्वसाधारणलाई सचेत गराउन तथा आवश्यक परे तत्काल प्रतिकार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ । यातायात व्यवसायीलाई सम्बन्धित जिल्लाको प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्रै सवारीसाधन सञ्चालन गर्न पनि सुझाव दिइएको छ।

चक्रवात ‘अर्नब’ बुधबार बिहान भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको उक्त प्रणाली क्रमशः कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न भागमा बदली र वर्षा सुरु भएको हो।

यस्तो छ कात्तिक १३ गतेदेखि १६ गतेसम्मको मौसम पूर्वानुमान

२०८३ कात्तिक १३ गते (शुक्रबार)

दिउँसो: देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।

राति: देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।

२०८३ कात्तिक १४ गते (शनिबार)

दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।

राति: देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

२०८३ कात्तिक १५ गते (आइतबार)

देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

२०८३ कात्तिक १६ गते (सोमबार)

देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।