काठमाडौँ-भुटानको गासा जिल्लास्थित शिंताफू (Shintaphu) हिमताल फुटेर बाढी आएपछि छिमेकी भारतको पश्चिम बंगाल र असमका नदी तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पश्चिम बंगालको उत्तर बङ्गाल क्षेत्रमा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सङ्कोश नदी क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ।
भुटानको लाया गेओगअन्तर्गत लुङ्गो क्षेत्रमा वाकिला पर्वतको फेदीमा रहेको शिंताफू हिमतालमा बिहीबार (अक्टोबर २९) साँझ हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीओएलएफ) आएको हो। बाढीको पानी मोछु नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा बगेपछि भारतको पश्चिम बंगाल र असममा सम्भावित जोखिम बढेको हो।
भुटानको राष्ट्रिय प्रसारण संस्था भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गासा जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र गासा छाछुस्थित प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारमा क्षति पुर्याएको छ। रातिको समयमा आएको बाढीका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको छ। अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन हुन नसकेको बीबीएसले जनाएको छ।
बाढीले दुईवटा बेलीब्रिजसमेत बगाएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि भइसकेको छैन। घटनामा हालसम्म मानवीय क्षति वा घाइते भएको खबर सार्वजनिक भएको छैन।
भुटानी सञ्चारमाध्यम कुएनसेलका अनुसार बाढीले लाया गाउँ र जोखाङ जोड्ने सडकको केही भाग बगाएको छ। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसबाट दुर्गम लाया क्षेत्रको सडक सम्पर्कसमेत प्रभावित भएको छ। बाढी पुग्नुअघि नै तातोपानी क्षेत्र खाली गराइएकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
१० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा
भुटानमा हिमताल फुटेको सूचना प्राप्त भएपछि भारतको पश्चिम बंगाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। विशेषगरी अलिपुरद्वार जिल्लाको सङ्कोश नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले करिब ४ हजारदेखि ५ हजार मानिसलाई विद्यालय भवनमा स्थापना गरिएका राहत शिविरमा राखिएको र ६ हजारभन्दा बढीलाई अन्य सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्।
सङ्कोश नदी र यसका सहायक नदी आसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।
दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। भुटानको हिमतालबाट निस्किएको पानी मोछु नदी हुँदै सङ्कोश नदी प्रणालीतर्फ बगिरहेकाले नदी आसपासका बासिन्दा सजग रहनुपर्ने उनको भनाइ छ।
पश्चिम बंगालका वनमन्त्री मनोजकुमार ओरांवले पनि अलिपुरद्वार जिल्लाको कुमारग्राम, चाङमारीलगायत सङ्कोश नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। जोखिमयुक्त क्षेत्रका नागरिकसँग सम्पर्क गरी आवश्यक परे स्थानान्तरण गर्न प्रशासनलाई निर्देशन दिइएको छ।
एनडीआरएफ र एसडीआरएफ परिचालन
बाढीको सम्भावित जोखिम व्यवस्थापनका लागि भारतको राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), प्रहरी तथा नागरिक सुरक्षा टोली परिचालन गरिएको छ।
अलिपुरद्वारका प्रहरी प्रमुख शाहका अनुसार प्रशासनले भुटानका अधिकारी, जिल्ला प्रशासन र अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ। नदीको बहाव केही घटेको जानकारी प्राप्त भए पनि प्रशासनले उच्च सतर्कता कायम राखेको छ।
राहत शिविरमा राखिएका मानिसका लागि सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। नदीको जलस्तर र पानीको बहाव निरन्तर निगरानी भइरहेको छ।
भारतका सम्बन्धित निकायले पश्चिम बंगालका अलिपुरद्वार, जलपाइगुडी र कुचबिहार तथा असमको धुबरी आसपासका नदी तटीय क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेका छन्।
भुटानका १७ जोखिमयुक्त हिमतालमध्ये एक
शिंताफू हिमताल भुटानका सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एक मानिन्छ। यो गासा जिल्लाको लाया क्षेत्रमा वाकिला पर्वतको फेदीमा अवस्थित छ।
हिमनदी पग्लिएर बनेका तालमा पानीको मात्रा बढ्दै जाँदा वा ताललाई थामेर राखेको प्राकृतिक बाँध कमजोर भएर फुट्दा एकैपटक ठूलो परिमाणमा पानी बाहिरिने घटनालाई हिमताल विस्फोटजन्य बाढी (जीओएलएफ) भनिन्छ।
यस्तो बाढी तीव्र गतिमा तल्लो तटीय क्षेत्रमा पुग्छ। पानीसँगै ढुङ्गा, माटो, बालुवा र अन्य गेग्रानसमेत बगाएर ल्याउने भएकाले यसले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याउन सक्छ।
भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले हिमतालबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर नदीको जलस्तर निगरानी तथा पूर्वसूचना प्रणाली सञ्चालन गर्दै आएको छ।
हिमताल फुटेर बाहिरिएको पानीको वास्तविक परिमाण, भुटानमा भएको भौतिक क्षति र भारतका तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे विस्तृत विवरण आउन बाँकी छ।



प्रतिक्रिया