अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘यो नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुक थप संकटमा जान्छ’

‘यो नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुक थप संकटमा जान्छ’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्षको बजेट आए मुलुक थप संकटमा जाने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै ओलीले आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुकको आर्थिक क्षेत्र थप संकटमा पुग्ने बताउनुभयो ।

ओलीले सरकारको कार्यक्रममा पपुलिस्टक्क, गैरजिम्मेवार, अनुत्तरदायी प्रवृत्ती र अर्थतन्त्रमाथि खेलबाड गर्ने प्रवृत्ती बजेटले पुष्टि गर्ने बताउनुभयो ।

स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको अध्यक्ष ओलीको आरोप छ । स्थानीय तह निर्वाचनमा सत्तापक्षले धाँधली गरेको भन्दै ओलीले भन्नुभयो,’ सत्तापक्षले निर्वाचनमा धाँधली गर्ने कुरामा नयाँ कीर्तिमान नै भयो । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गर्दा पनि प्रहरी निरीह भएर बस्यो ।’

गठबन्धनले निर्वाचन गर्न नचाहेको तर एमालेको दबाबका कारण स्थानीय तह निर्वाचन सम्भव भएको उनले दावी गर्नुभयो । एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै भएको भन्दै ओलीले एमाले सशक्त पार्टी भएकाले आम निर्वाचनपछि सरकारमा आउने दावी गर्नुभयो ।

ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्यबिहीन र जनता अल्मल्याउने कुरा मात्र भएको बताउनुभयो ।

ओलीले निर्वाचन सम्पन्न हुनेवित्तिकै मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको भन्दै वर्तमान सरकार बनेपछि मुल्यवृद्धिले नकारात्मक कीर्तिमान कायम गरेको बताउनुभयो ।