अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचन : ७५१ पालिकाको नतिजा सार्वजनिक, एकमा मतगणना हुँदै, अर्कोमा मतदान हुने

स्थानीय निर्वाचन : ७५१ पालिकाको नतिजा सार्वजनिक, एकमा मतगणना हुँदै, अर्कोमा मतदान हुने


काठमाडौं – देशभरका ७५३ मध्ये ७५१ स्थानीय तहको मतगणना सकिएको छ । निर्वाचन अन्तर्गत अब दुई वटा स्थानीय तहको मात्रै परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगका अनुसार देशभरका ७५३ मध्ये ७५१ स्थानीय तहको मतगणना सकिएको छ । नयाँ जनप्रतिनिधि आउनुभएको छ भने कार्यपालिका सदस्य छनोट प्रक्रिया चलिरहेको छ ।

अब बाँकी उदयरपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिका रहेका छन् । त्रियुगा नगरपालिकामा मतगणना चलिरहेको छ । शनिबार बिहानसम्म २३ हजार ९७५ मत गणना भएको छ । जसमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले आठ हजार दुई सय मत पाउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का भागवत राउतले ६ हजार ३७७ मत पाउनुभएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ६ हजार ३०२ मत पाउनुभएको छ ।

त्यस्तै, उपमेयरमा कांग्रेसकी उम्मेदवार सरिता राई सात हजार ४१० मत सहित अग्रता लिनुभएको छ । प्रतिस्पर्धी एमालेकी उम्मेदवार महेश्वरी राईले सात हजार ५४ मत पाउनुभएको छ ।

उपमेयरमा नेकपा (माओवादी केन्द्र) की गीता खड्का (कार्की) ले चार हजार ८२५ पाउनुभएको छ । यो नगरपालिकामा एकीकृत समाजवादी र माओवादीले तालमेल गरेका छन् ।

बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले छानबिनपछि पुनःमतदान गर्ने निर्णय गरेको छ ।

आयोगले स्थानीय सुरक्षा निकाय प्रमुखलाई हटाउन पनि सरकारलाई निर्देशन दिएको छ । अब बाजुराका मुख्य निर्वाचन अधिकृतले निर्वाचनको मिति तोक्नेछन् ।