काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिएको छ। यस क्रममा प्राधिकरणले कात्तिक १३ गतेदेखि २० गतेसम्म आठ दिन राजधानीका विभिन्न स्थानमा दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् तार भूमिगत गर्ने काम गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो। प्राधिकरणका अनुसार तोकिएका दिनमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ।
प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।
त्यसैगरी, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
यस्तै, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती हुनेछ।
कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
प्रतिकूल मौसमका कारण निर्धारित समयमा काम गर्न नसकिए कार्यतालिका रद्द वा परिवर्तन हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।
सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै विद्युत् वितरण प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन लाइन भूमिगत गर्ने काम भइरहेको भन्दै प्राधिकरणले यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।



प्रतिक्रिया