अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जितपुर सिमरा उपमहानगरमा विवाद, कार्यपालिका सदस्यको शपथ ग्रहण रोकियो

जितपुर सिमरा उपमहानगरमा विवाद, कार्यपालिका सदस्यको शपथ ग्रहण रोकियो


काठमाडौं – बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचितको शपथ ग्रहण कार्यक्रम रोकिएको छ ।

कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच शपथ ग्रहण गर्ने स्थानको विषयमा असहमति भएपछि कार्यक्रम रोकिएको हो ।

उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराउने तयारी गर्नुभएको थियो । तर, न्यायिक इजलाश कक्ष भत्काएर बनाइएको उपमहानगर प्रमुखको कक्षमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यले अस्वीकार गर्नुभयो ।

नगरबासीलाई न्यायिक सेवा दिने इजलाश भत्काएर बनाइएको कक्षमा नभई आफूहरूलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा शपथ ग्रहण गराउन कार्यपालिका सदस्यहरूले प्रमुख पौडेलसँग आग्रह गरेका थिए ।

प्रमुख पौडेलले भने आफ्नो कक्षबाहेक अन्यत्र गएर शपथ ग्रहण नगराउने अडान लिँदै आउनुभएको छ । शपथ ग्रहण गराउने आफ्नों काम भएको र आफूले तयारी गरेकै स्थानमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यलाई उहाँको आग्रह थियो । दुवै पक्षले अडान नछाडेपछि शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो ।

शपथ ग्रहण स्थगित भएपछि निर्वाचन अधिकृत टीकामणी न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको कक्षमा कार्यपालिका सदस्यलाई प्रमाण–पत्र वितरण गर्नुभएको छ ।

प्रमाण–पत्र वितरण कार्यक्रममा सहभागी हुन प्रमुख पौडेललाई बोलाइए पनि उहाँ सहभागी हुनुभएन । उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठजना उम्मेदवार निर्वाचित हुनुभएको थियो ।

कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी हुँदा नगर कार्यपालिकामा एमालेबाट प्रतिनिधित्व गर्नेको संख्या २२ पुगेको छ भने माओवादीको पाँच, कांग्रेसको पाँच, लोसपा र एकिकृत समाजवादीको एक–एकजना सदस्य छन् ।