अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५ पुग्यो

काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५ पुग्यो


काठमाडौं – काठमाडौं उपत्यकामा थप तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा हैजाका बिरामीको सङ्ख्या पाँच पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको छ। त्यस्तै, अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा हैजा देखिएको छ। उहाँको थप कल्चर गर्न बाँकी रहेको जनाइएको छ।

बूढानीलकण्ठ नगरपालिकाको कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा। चुमनलाल दासले बताउनुभयो। उहाँका अनुसार, महाशाखाले अनुसन्धानका लागि टोली खटाइसकेको छ।

टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खाना लगायतको गुणस्तरको मापन गरिरहेको छ। थप हैजा फैलन नदिन सचेत गराइरहेको छ।

यसअघि काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। हाल उहाँहरू आईसीयूमा रहेको र स्वास्थ्यमा सुधार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताउनुभयो ।

अहिले के कारणले हैजा फैलिएको यकिन भन्न नसकिने डा। पुनको भनाइ छ। तथापि, रोगको प्रकोप झन् बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ। यो ब्याक्टेरिया रहेको दूषित खानेकुरा खाँदा वा पानी पिउँदा गर्दा हैजा लाग्छ।