अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जनताको बहुदलीय जनवाद’ विश्वको मार्ग दर्शक सिद्धान्त बन्न सक्छ : शंकर पोखरेल

‘जनताको बहुदलीय जनवाद’ विश्वको मार्ग दर्शक सिद्धान्त बन्न सक्छ : शंकर पोखरेल


काठमाडौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्ने बताउनुभएको छ ।

महासचिव पोखरेलले एमालेका तत्कालीन अध्यक्ष मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जबज’ विश्वमै मार्ग दर्शन बन्न सक्ने बताउनुभएको हो ।

मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसम्वादमा पोखरेलले सो कुरा बताउनुभएको हो ।

पोखरेलले भन्नुभयो, ‘मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।’

जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको बताउँदै कांग्रेस र माओवादी पनि जबजको लाइनमा आएको पाखरेलले बताउनुभयो ।

माओवादीले शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली तथा कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली जबजबाटै सिकेका पोखरेलको भनाइ छ ।

पोखरेलले मदन भण्डारीको स्मरण गर्दै नेपालमा टुटेर फुटेर बसेका कम्यूनिष्टहरुलाई एकतावद्ध बनाउने काम मदन भण्डारीले नै गरेको उल्लेख गर्नुभयो ।

मदन भण्डारी दूरदृष्टी रहेका नेता भएको बताउँदै पोखरेलले भन्नुभयो, ‘विश्व कम्युनिष्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु नयाँ सिद्धान्त जबज प्रस्तुत गर्ने दूरदृष्टि भएका नेता मदन भण्डारी हुनुहुन्थ्यो ।’

त्यस्तै, पोखरेलले मिडियाहरुलाई तथ्यपरक नभएर लगानीकर्ताको चाहना अनुसार चल्ने गरेको बताउनुभयो । सञ्चारमाध्यमहरु नै स्वतन्त्र भए मात्रै स्वतन्त्र अभिव्यक्ति हुने पोखरेलको भनाइ छ ।

त्यस्तै, एमालेका केन्द्रीय सदस्य एवं प्रचार एवं प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले मदन भण्डारी नेपालका दार्शनिक भएको चित्रण गर्दै उहाँका विचारले नै नेपाललाई समृद्ध बनाउने र समाजवादको बाटोमा अघि बढाउने बताउनुभयो ।