डोल्पा-डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन्। उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर भागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये ८ जना फरार भएका हुन्। कारागारमा १७ जना कैदीबन्दी रहेकोमा पुर्पक्षका लागि थुनामा रहेका दुई जनासहित ८ जना फरार भएको उनले जानकारी दिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ डीएसपी गिरीसहितको प्रहरी टोली कारागार पुगेको थियो। फरार कैदीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक अवस्था, सुरुङ खनिएको स्थान र फरार कैदीहरूको पहिचानबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाको स्थलगत निरीक्षण तथा अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।



प्रतिक्रिया