अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


हेटौँडा-कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पहिलो चेतावनी जारी गरेको छ। जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण इन्द्रसरोवर जलाशयको सतह बढेपछि आयोजनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

आयोजनाका अनुसार जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आएमा थप सूचना जारी गरी पूर्वचेतावनीको साइरन बजाइने आयोजनाले जनाएको छ।

आयोजनाले बाँधको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई खोला किनारबाट टाढा रहन र आवश्यक परे अग्लो तथा सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । साथै, देउराली–सिस्नेरी सडक खण्ड भएर आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार शनिबार दिउँसोसम्म कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगेको छ । निरन्तर वर्षा भइरहेकाले केही घण्टामै पानीको सतह १ हजार ५२८ मिटर पार गर्ने अनुमान गरिएको छ ।

यसअघि शनिबार बिहान ६ बजे जलाशयको सतह १ हजार ५२७.४२ मिटर रहेकोमा दुई घण्टापछि बिहान ८ बजे १ हजार ५२७.५० मिटर पुगेको थियो । त्यसपछि पनि पानीको सतह बढ्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रजिअ अधिकारीले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएस सतर्कता सन्देशमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन् ।

जलाशयमा पानीको चाप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले कुलेखानीका तीनवटै विद्युत् उत्पादन युनिट पूर्ण क्षमतामा सञ्चालन गरेको छ । पहिलो युनिटबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतले जानकारी दिए ।

उनका अनुसार कुलेखानी जलाशयको अधिकतम पानी भण्डारण क्षमता समुद्री सतहबाट १ हजार ५३० मिटर हो । जलाशय भरिन अझै करिब साढे दुई मिटर बाँकी रहेकाले तत्कालै बाँध खोल्नुपर्ने अवस्था नरहेको उनले बताए । आवश्यक परे बाँधमा बालुवाका बोरा राखेर थप ५० सेन्टिमिटरसम्म पानी भण्डारण गर्न सकिने उनको भनाइ छ ।

‘असोजको जस्तो अत्यधिक भारी वर्षा नभएकाले ड्याम तत्काल भरिने सम्भावना छैन । जलाधार क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । यदि जलाशय भरिने अवस्था आयो भने पनि हामी तल्लो तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना दिएर मात्र बाँध खोल्नेछौँ,’ उनले भने ।

आयोजनाले बाढीको पूर्वसूचना दिन सिस्नेरीलगायत तल्लो तटीय क्षेत्रका विभिन्न स्थानमा साइरनसमेत जडान गरेको छ । जलाशयको सतह १ हजार ५२९ मिटर पुग्नेबित्तिकै पहिलो साइरन बज्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

चक्रवात ‘अर्नव’को प्रभावका कारण शुक्रबारदेखि मकवानपुरसहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । कुलेखानीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले जलाशयको सतह थप बढ्न सक्ने अनुमान गरिएको छ ।