काठमाडौँ-झरी र वर्षाको समेत प्रवाह नगरी पानीमा रुझ्दै पत्रकारहरूले प्रेस स्वतन्त्रताको मागसहित काठमाडौँको माइतीघर मण्डलमा मौन प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासङ्घको आह्वानमा शनिबार आयोजित प्रदर्शनमा सहभागी सञ्चारकर्मीहरूले पत्रकार पक्राउ, सञ्चारगृहमा प्रहरी प्रवेश र समाचार कक्षमा भइरहेको हस्तक्षेपविरुद्ध विरोध जनाएका हुन्।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर वर्षा भइरहेको छ। तर, प्रतिकूल मौसमको बेवास्ता गर्दै पत्रकारहरू छाता ओढेर तथा वर्षामा रुझ्दै प्रदर्शनमा सहभागी भएका थिए।
प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारमाथिको धरपकड बन्द गर्न र सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्य रोक्न माग गरेका छन्। उनीहरूले सरकारी रवैयाविरुद्ध नाराबाजीसमेत गरेका थिए।
शुक्रबार सादा पोसाकका प्रहरीले विभिन्न सञ्चारगृहमा प्रवेश गरी केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। नेपाल प्रेसको न्युजरुमबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजबाट शोभराज बराललगायत सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनापछि पत्रकार महासङ्घसहित विभिन्न राजनीतिक दल, सञ्चार संस्था र पत्रकारहरूले विरोध जनाएका थिए। चौतर्फी दबाबपछि नियन्त्रणमा लिइएका पत्रकारहरूलाई साँझ रिहा गरिएको थियो।
पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरीको हस्तक्षेप बढेको भन्दै महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारहरूको सुरक्षाको मागसहित माइतीघरमा विरोध प्रदर्शन आयोजना गरेको हो।
प्रदर्शनलाई नेपाल पत्रकार महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोध गरेका थिए।






प्रतिक्रिया