अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा हैंजाको प्रकोप बढ्दो,पानी उमालेर मात्र पिउन आग्रह

काठमाडौं उपत्यकामा हैंजाको प्रकोप बढ्दो,पानी उमालेर मात्र पिउन आग्रह


काठमाडौं – काठमाडौ उपत्यकामा सोमबारसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युवबेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले आज संसदको शिक्षा तथा स्वास्थ्य समितिमा काठमाडौंका बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र ललितपुरको सानेपामा पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको जानकारी गराएपछि यसले राजधानीबासीलाई त्रास सृजना गरेको छ ।
बल्खु र कोटेश्वरको पनि नमुना लिएको तर रिपोर्ट आइनसकेको दासको भनाइ छ । शनिबार यी दुई क्षेत्रका दुईजनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

“काठमाडौंमा वितरित १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,” निर्देशक दासले संसदस्य समितीमा भन्नुभयो “बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ ।”
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले सन् २०२० मा गरेको जारको पानीको ¥यान्डम परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको थियो । त्यस्तै ९२ नमुनामा कोलिर्फम ब्याक्टेरिया भेटिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार पानीमा कोलिफर्मको मात्रा शून्य प्रतिशत नै हुनुपर्छ । नास्टले नै सन् २०२१ मा गरेको बागमती किनारका इनारको पानीको नमुनामा २१।५ प्रतिशतमा इकोली भेटिएको थियो । सोही पानीको ८५ प्रतिशत नमुनामा कोलिर्फम भेटिएको थियो ।