अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान


काठमाडौँ – आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।     

तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु. १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु. १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु. एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै रु. दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।     

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट रु. दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र रु. ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु. दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।     

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/७९ मा नेपालले रु. दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले रु. एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।