अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा

गृहमन्त्रीको दम्भपूर्ण अभिव्यक्तिले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठायो: सोम पोर्तेल

गृहमन्त्रीको दम्भपूर्ण अभिव्यक्तिले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठायो: सोम पोर्तेल


काठमाडौं-राष्ट्रिय सभाका सांसद सोम पोर्तेलले गृहमन्त्री सुदन गुरुङको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय सभाको बैठकमा कडा आलोचना गरेका छन्।

बिहीबार राष्ट्रिय सभामा धारणा राख्दै सांसद पोर्तेलले भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारजनको उपस्थितिमा गृहमन्त्री गुरुङले दिएको अभिव्यक्ति अहंकारी र दम्भपूर्ण रहेको टिप्पणी गरे। गृहमन्त्रीले ‘हामी राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौं’ भनेको उल्लेख गर्दै सांसद पोर्तेलले यस्तो अभिव्यक्तिले लोकतान्त्रिक संस्कार र राजनीतिक मर्यादामाथि प्रश्न उठाएको बताए।

सांसद पोर्तेलले केही महिनाअघिसम्म संविधानको सामान्य व्याख्यासमेत नबुझेका तथा दण्डहीनता र अराजकताका प्रतीक बनेका व्यक्तिहरूबाट नेपाली समाजले कस्तो राजनीति सिक्नुपर्ने हो भन्ने प्रश्न गरे। उनले टीओबीको ज्याकेट लगाएर राष्ट्रका धरोहरहरू खरानी बनाउने, व्यावसायिक भवनमा मानिसलाई जिउँदै जलाउने वा अवैध सम्पत्तिलाई पैतृक सम्पत्तिका रूपमा रूपान्तरण गर्ने राजनीति सिकाउन खोजिएको हो भन्दै व्यंग्य गरे।

सांसद पोर्तेलले भने, ‘टीओबीको ज्याकेट लगाएर राष्ट्रका धरोहरहरू खरानी बनाउन सिक्नुपर्ने हो ? कि व्यावसायिक भवनहरूमा मान्छे जिउँदै जलाउन सिक्नुपर्ने हो ? वा अवैध सम्पत्तिलाई पैतृक गरगहनामा रूपान्तरण गर्न सिक्नुपर्ने हो ?’

सांसद पोर्तेलले गृहमन्त्रीलाई लक्षित गर्दै मृतकका शवमाथि कर असुल्ने राजनीति सिकाउने हो कि, ग्यासको कृत्रिम अभाव सिर्जना गरेर जनता लुट्ने तिकडम सिकाउने हो कि, वा सामाजिक सञ्जालमा गालीगलौज र छाडा टिप्पणी गर्न सिकाउने हो भनेर प्रश्न गरे।

‘मन्त्रीजी, हामीलाई कस्तो राजनीति सिकाउने हो ? मृत्यु भएका लासमाथि कर असुल्ने राजनीति सिकाउने हो कि ? ग्यासको कृत्रिम अभाव सिर्जना गरेर जनता लुट्ने तिकडम सिकाउने हो ? या सामाजिक सञ्जालमा गाली गर्न र छाडा टिप्पणी गर्न सिकाउने हो ?’ उनले भने।

सांसद पोर्तेलले जिम्मेवार पदमा रहेका व्यक्तिहरूले संयमित, उत्तरदायी र मर्यादित अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्दै सरकारका मन्त्रीहरूबाट आउने सार्वजनिक अभिव्यक्तिले राजनीतिक संस्कार, लोकतान्त्रिक मूल्य र सार्वजनिक मर्यादाको सम्मान गर्नुपर्ने धारणा राखे।