अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपीडितको उद्धार माग गर्दा ज्यान मार्ने र यौन हिंसाका धम्की आएका छन्: सांसद बराल

बाढीपीडितको उद्धार माग गर्दा ज्यान मार्ने र यौन हिंसाका धम्की आएका छन्: सांसद बराल


काठमाडौं-नेकपा (एमाले) की सांसद एशुदाकुमारी बरालले रसुवाका बाढीपीडितको शीघ्र उद्धारको माग गरेपछि आफू साइबर दुर्व्यवहार र धम्कीको सिकार बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने तथा यौन हिंसासम्बन्धी धम्कीका हजारौँ सन्देश प्राप्त भएको दाबी गरिन्। बाढीपीडितको उद्धार छिटो गर्नुपर्ने माग राखेकै कारण आफूलाई लक्षित गरी साइबर बुलिङ भइरहेको उनले बताइन् ।

सांसद बरालले महिलामाथि गालीगलौज, अपमानजनक टिप्पणी र धम्की दिने कार्यमा संलग्न व्यक्तिहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्। उनले बाढी प्रभावित क्षेत्रमा महिला, सुत्केरी तथा अन्य पीडितहरूले भोगिरहेका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन्।

संसदमा बोल्दै उनले सडकमै महिलाले सुत्केरी हुनुपर्ने, खाद्यान्न र आधारभूत सुविधाको अभाव झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारप्रति प्रश्न उठाइन्।  ‘सडकमा महिला सुत्केरी हुनु, पीडितहरूले आधारभूत आवश्यकतासमेत नपाउनु सरकारको नीति हो र ?’ उनले प्रश्न गरिन्।

साइबर दुर्व्यवहारबारे बोल्दै बरालले भनिन्, ‘रसुवामा उद्धार छिटो हुनुपर्छ भनेर आवाज उठाउँदा किन साइबर बुलिङको सिकार हुनुपर्छ ? मलाई ज्यान मार्ने र यौन हिंसासम्बन्धी धम्कीका हजारौँ सन्देश आएका छन्।’

उनले सामाजिक सञ्जालमा ‘घण्टी’ चुनाव चिह्नको तस्वीर प्रयोग गरी गालीगलौज र धम्कीपूर्ण टिप्पणी गर्ने गतिविधि बढेको दाबी गर्दै त्यस्ता कार्य रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिन्। ‘महिलामाथि अपमानजनक टिप्पणी गर्ने र धम्की दिनेहरूलाई कारबाही गरियोस्,’ उनले भनिन्।