अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राधिका शाक्यको स्मृतिमा बालकोट घरः सपनाको भग्नावशेष

राधिका शाक्यको स्मृतिमा बालकोट घरः सपनाको भग्नावशेष


इतिहासमा केही दिन यस्ता हुन्छन्। जसलाई समयले जति पुरानो बनाए पनि समाजले सजिलै बिर्सन सक्दैन। ती दिनहरू पात्रोका मिति मात्रै हुँदैनन्।  एउटा युगको मनोविज्ञान, एउटा समाजको पीडा र एउटा गहिरो पिडा बनेर बनेर रहन्छन्। 

भदौ २४, नेपालको इतिहास र अध्यायकै कालो दिन हो। हाम्रा राष्ट्रिय धरोहरहरू सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास, नेताहरूका निजी निवास आदि जलाइएको दिन हो। धेरै नेपालीहरूको ज्यान समेत गएको दिन हो। त्यही कालो दिन भदौ २४ मा राधिका शाक्यले आफ्नो घर बालकोट घरको स्मृतिलाई पुस्तिकामा उतार्नु भएको छ। स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष नामक त्यो सानो पुस्तिकाले बालकोट घरको इतिहास मात्रै बोलेको छैन, एउटा कालखण्डको राजनीति र समाजको इतिहास पनि बोलेको छ। 

सपना कसरी घर बन्छ ?

घर इँटा, ढुङ्गा, सिमेन्ट र काठले बनेको संरचना मात्रै होइन। घरभित्र मानिसका वर्षौँका सपना हुन्छन्। घर निर्माणका सङ्घर्षका कथा हुन्छन्। हाँसो हुन्छ, दुःखका आँसु हुन्छन् र जीवनका असङ्ख्य स्मृतिहरू सुरक्षित हुन्छन्। त्यसैले एउटा घर जल्नु भनेको एउटा भवन जल्नु होइन। त्यो परिवारको जीवन इतिहासको एउटा अध्याय नै खरानी हुनु हो। बालकोटको त्यो घर एउटा घर मात्र थिएन। त्यो घरभित्र एउटा राजनीतिक यात्राको इतिहास थियो। सङ्घर्षका दिनहरू थिए। भेटघाटका स्मृतिहरू थिए। परिवारका सुख–दुःख थिए। देश र जनताका विषयमा भएका असङ्ख्य छलफलका प्रतिध्वनिहरू थिए। राधिका शाक्यका लागि त्यो घर अझ बढी विशेष थियो, किनकि निर्माणदेखि हरेक कोठा र भित्ताहरूमा उहाँका सङ्घर्षका स्मृतिहरू थिए। जब बालकोटको जलेको घरका तस्बिरहरू आँखा अगाडि आउँछन्। त्यहाँ जलेका भित्ताहरू मात्र देखिँदैनन्। ती भित्तासँगै एउटा समय जलेको देखिन्छ। एउटा परिवारले वर्षौँ लगाएर बनाएको संसार जलेको देखिन्छ। सम्झनाहरू खरानी भएको देखिन्छ। राधिका शाक्यको पुस्तिकाले यही कुरा बोलेको छ।  

राजनीतिक जीवनको एउटा चरणसँग गाँसिएको, परिवारका व्यक्तिगत अनुभूतिसँग जोडिएको र अनेकौँ स्मृतिको साक्षी बनेको त्यो बालकोटको घर राधिका शाक्यका लागि एउटा ठेगाना मात्र थिएन। त्यो जीवनका अनेकौँ मोडहरूको मौन साक्षी थियो। आज त्यही ठाउँमा उभिँदा जलेका संरचनाहरूले एउटा प्रश्न सोध्छ, के आगोले घर मात्र जलाउँछ ? कि मानिसका स्मृतिहरू पनि जलाउँछ ?

आगोपछि बाँकी रहेको मौनता

आगो निभेपछि धुवाँ हराउँछ। मानिसहरू फर्किन्छन्। सडक फेरि चलायमान हुन्छ। समाचारका शीर्षकहरू बदलिन्छन्। केही समयपछि घटना पनि मानिसहरूको दैनिक स्मृतिबाट क्रमशः टाढिँदै जान सक्छ। तर घर गुमाउने मानिसका लागि त्यो कहिल्यै हराएर सकिँदैन। भित्ताहरू ढलेपछि पनि सम्झनाहरू ढल्दैनन्। ढोका जलेपछि पनि त्यसबाट भित्र पस्ने पुराना पाइला सम्झनामा रहन्छन्। झ्याल फुटेपछि पनि त्यसबाट देखिएको आकाश सम्झनामा रहन्छ। पुस्तक, तस्वीर, फर्निचर र व्यक्तिगत सामग्री खरानी बनेपछि पनि तिनीसँग जोडिएका कथा मनभित्र जीवित रहन्छन्। राधिका शाक्यको पुस्तिका स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेषलाई पनि यहीँ गहिराइबाट बुझ्नुपर्छ। उहाँले एउटा भवन मात्र गुमाउनु भएको छैन, आफ्नै जीवनको एउटा अंशसँग जोडिएको संसार गुमाउनुभएको छ।

जलेको घर र बाँचेको स्मृति

आगोले भौतिक वस्तु नष्ट गर्न सक्छ, तर स्मृति नष्ट गर्न सक्दैन। तस्वीर जल्न सक्छ, तर तस्वीरसँग जोडिएको स्मृति जल्दैन। कपडा जल्न सक्छ, तर जो जीवनको कथा जल्दैन। राधिका शाक्यको स्मृतिमा बालकोटको घरलाई हेर्दा त्यसको भग्नावशेषभन्दा ठूलो कुरा देखिन्छ, त्यो घरले बोकेको जीवन। आज जलेको बालकोट एउटा संरचना हो। तर हिजोको बालकोट एउटा संसार थियो। त्यसैले बालकोटको घरमा भएको आगजनीलाई निजी पक्षका रूपमा हेर्नु पर्याप्त हुँदैन। यसलाई नेपालकै राजनीतिक र लोकतन्त्रमाथिको, देशको सार्वभौमिकतासँग जोडेर पढिनु पर्दछ।

राजनीतिक असहमति लोकतन्त्रको स्वाभाविक हिस्सा हो। तर असहमतिको अभिव्यक्ति र विनाशबीच ठूलो अन्तर हुन्छ। विचारसँग विचारले प्रतिस्पर्धा गर्नुपर्छ। तर्कसँग तर्कले जवाफ दिनुपर्छ। राजनीतिक नेतृत्वसँग राजनीतिक रूपमा प्रश्न गर्नुपर्छ। तर जब आगो संवादको स्थानमा आउँछ। त्यहाँ घर मात्र जल्दैन, लोकतान्त्रिक संस्कार पनि घाइते हुन्छ। त्यसैले बालकोटको जलेको घरलाई सम्पत्तिका रूपमा होइन, नेपालको लोकतान्त्रिक यात्राको एउटा गम्भीर स्मारकका रूपमा पनि हेर्नुपर्छ। 

राधिका शाक्यको आँखामा बालकोट

राधिका शाक्य जब बालकोट पुग्नुहुन्छ। जहाँ पहिले घर थियो, त्यहाँ अब कालो भएको भित्ता छ। जहाँ मानिसहरूको भीड हुन्थ्यो। त्यहाँ अब मौनता छ। जहाँ सामानहरू थिए, अब त्यहाँ खरानी छ। जहाँ भविष्यका योजनाहरू बनाइन्थे, त्यहाँ अब भग्नावशेष छ। तर उहाँको आँखाले त्यहाँ भग्नावशेष मात्र देख्नुहुन्न, उहाँले त्यहीँ पुरानो घर देख्नुहुन्छ। त्यहाँ बिताएका दिनहरू देख्नुहुन्छ। एउटा कोठा, एउटा कुर्सी, एउटा झ्याल, एउटा आवाज, एउटा संवाद, देश विदेशबाट प्राप्त उपहार, भित्ताभरि सजाइएका फोटाहरू सबै स्मृतिमा फेरि फर्किन्छन् होला। किनकि घर भत्किएपछि पनि घरको स्मृति भत्किँदैन।

भग्नावशेषबाट उठ्ने प्रश्न

बालकोटको भग्नावशेषले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ, हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्न चाहन्छौँ ? असहमति हुँदा संवाद गर्ने कि आगो बाल्ने ? विरोध हुँदा तर्क गर्ने कि सम्पत्ति नष्ट गर्ने ? राजनीतिक प्रतिस्पर्धामा विचार प्रस्तुत गर्ने कि प्रतिशोध रोज्ने ? यी प्रश्नहरूको उत्तर उहाँकालागि मात्र महत्त्वपूर्ण छैन। नेपालको लोकतान्त्रिक भविष्यका लागि पनि महत्त्वपूर्ण छ। आज बालकोटको घर जलेको छ। भोलि कुनै अर्को परिवारको घर नजलोस्। आज एउटा परिवारको स्मृति खरानी भएको छ। भोलि कसैको जीवनभरको सपना खरानी नहोस्। राधिका शाक्यको पुस्तकले यो चेतावनी दिएको छ। 

अन्त्यमा, राधिका शाक्यको स्मृतिमा बालकोटको जलेको घर त्यसैले एउटा भग्न भवन मात्र होइन, यो एउटा पीडा सहितको प्रश्न हो। सम्भवतः यो हाम्रो राजनीतिक संस्कृतिका लागि घरहरू जलाएर इतिहास मेटिँदैन। मृतिहरू जलाएर सत्य मेटिँदैन। भन्ने एउटा चेतावनी हो। आगोले विचारलाई कहिल्यै पराजित गर्न सक्दैन। बालकोटको खरानीबाट अब एउटा नयाँ प्रश्न उठ्नुपर्छ, हामीले कस्तो नेपाल बनाउने ? आगोले शासन गर्ने नेपाल, कि विचार र लोकतन्त्रले बाटो देखाउने नेपाल ? राधिका शाक्यको सानो पुस्तिकाले हामी सबैलाई यही प्रश्न सोधेको छ। सपना कसरी घर बन्छ ? हामी उहाँको यो प्रश्नको उत्तर कसरी दिन्छौ ? त्यो आउने समयले नै बताउने छ।