काठमाडौं-नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सम्पन्न भएको छ। कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकमा संयोजक थापा र सदस्यसचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा दुवै प्रतिवेदनमाथि प्रारम्भिक समीक्षा गरिएको थियो।
एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतले प्रतिवेदनहरूको अध्ययनपछि मूल विषयवस्तुमा केन्द्रित भएर शनिबारको बैठकमा विस्तृत छलफल गर्ने जानकारी दिए। उनका अनुसार आगामी बैठकले प्रतिवेदनमा समेटिएका सुझाव र निष्कर्षहरूलाई थप परिमार्जन गर्दै अन्तिम रूप दिने प्रक्रिया अघि बढाउनेछ।
त्यस्तै, उपमहासचिव लेखराज भट्टले बैठकमा प्रस्तुत दुवै प्रतिवेदनको अध्ययन गरी आवश्यक समन्वयसहित एउटै एकीकृत प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको बताए। कार्यदलले स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा गर्दै पार्टी संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र आगामी राजनीतिक रणनीतिबारे सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।


प्रतिक्रिया